१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम निर्माण हुने


प्रकाशित: बुधवार, २० असोज २०७८, २०ः४० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिकाको सहयोगमा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने भएको छ । 


काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीविच त्रिपक्षीय सम्झौता भएको छ । 


नागार्जुन नगरपालिकाले उपलब्ध गराएको डा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । 


आश्रम निर्माण काठमाडौँ महानगरपालिकाले गरिदिने र सेवा सञ्चालन मानव सेवा आश्रमले गर्नेगरी त्रिपक्षीय सम्झौता सम्पन्न भएको महानगरपालिकाले जनाएको छ । 


सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुन लागेको हो । यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर अधिकतम मानवीयताको प्रवद्र्धन गर्ने गरी सेवा सञ्चालन र व्यवस्थापन गर्ने काम मानव सेवा आश्रमले गर्नेछ । 


विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवनयापन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ । 


सम्झौतापछि महानगरका प्रमुख शाक्यले, सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन विताउनु नपरोस् भन्नका लागि आश्रम बनाउन लागिएको बताए । 


मानवीयता जोगाउने प्रयासका लागि गरिएको यो महत्वपूर्ण सम्झौता महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले बताईन । 


उद्देश्यअनुसारको प्रयोजनमा प्रयोग गर्न भवन हस्तान्तरण योग्य भएपछि सञ्चालनका लागि मानव सेवा आश्रमलाई जिम्मा दिइनेछ । सेवा सञ्चालनमा रहँदा भवनको संरक्षण तथा सदुपयोग गर्ने विषयमा महानगरसँग आवश्यक समन्वय गर्ने काम नागार्जुन नगरपालिकाको दायित्वमा राखिएको छ ।


भवनको मुल प्रयोजन विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनमा प्रयोग गर्नका लागि हुनेछ । यस्ता व्यक्तिको उद्धार, उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुर्नमिलन गराउँदा सञ्चालक मानव सेवा आश्रमले काठमाडाँै महानगरपालिका र नागार्जुन नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, स्थानीय सुरक्षाकर्मीको रोहवरमा गर्नु पर्नेछ । 


सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न र भविष्यमा मानव सेवा आश्रम संचालन व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन आवश्यक नीति तर्जुमा गर्ने, निर्णय गर्ने तथा कामकारवाहीलाई निर्देशन गर्ने उद्देश्यले काठमाडौँ महानगरका प्रमुखको संयोजकत्वमा ४ सदस्यीय निर्देशक समितिको व्यवस्था गरिएको छ । 


समितिको सदस्यमा नागार्जुन नगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष र काठमाडौँ महानगरपालिका वा नागार्जुन नगरपालिकाले तोकेका कार्यालयका विषयसम्वद्ध पदाधिकारी १र१ जना रहनुहुनेछ ।


निर्देशक समितिले तोकेका पदाधिकारीहरु रहेको एक भवन निर्माण तथा व्यवस्थापन उपसमिति गठन हुनेछ । उपसमितिले निर्देशक समितिले तोकेबमोजिम काम गर्नेछ ।


यसै बर्ष निर्माण कार्यको थालनी गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो ।सम्झौता अवसरमा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, दुवै नगरका कार्यपालिका सदस्यहरु, नागार्जुन नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरसहित पदाधिकारीहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex