काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गुठीको धेरै जसो जग्गामा कम्पलेक्स बन्न थालेको बताएका छन ।
शनिवार काठमाडौं महानगरपालिका वडा २१ मा रहेको इनाखा गणेश मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
शाक्यले गुठी संस्थानको स्वामित्वमा भएको जग्गाको सन्दर्भ उठाउँदै भने,‘गुठीले धेरै आफ्नो जग्गामा कम्प्लेक्स बनाउन थालेको छ । त्यहाँ कम्प्लेक्स बनाउने होइन । जग्गा हामीलाई दिनोस । हामी तपाईले गर्ने आय कति हो, दिन्छौँ । त्यहाँ हामी खुल्ला ठाउँ र पार्क बनाउँछौँ ।’
विवाद नभएका सम्पदाको मर्मत, सम्भार वा पुननिर्माण भएका छन । विवाद भएका र गुठी संस्थान, पुरातत्व विभागलगायत निकायसँग स्वामित्व भएर महानगरको हातमा नभएका सम्पदामा काम गर्न पाएका नपाएको प्रमुख शाक्यले सुनाए ।
अहिले घुम्ने संस्कृतिको विकास भएकोले आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर टाढा जाने गरेका छौँ । नजिकका ठाउँको भ्रमण अवलोकन गरौँ । यो सस्तो पनि हुन्छ । र मनोरञ्जनात्मक पनि हुन्छ । उहाँले आन्तरिक पर्यटकलाई काठमाडौँका सम्पदाको भ्रमण गर्न प्रमुख शाक्यले आग्रह पनि गरे ।
संघीय संसद एवं पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त उद्घाटन गरेका थिए ।
उद्घाटन गरिएको मन्दिर नजिक सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्नुभएको थियो । यस अघि वडा १२ मा रहेको पुखुसी महादेव मन्दिरको पनि उद्घाटन भइसकेको छ ।
मन्दिर पुननिर्माण अन्तर्गत पहिलो चरणमा करीव ६६ लाख ६२ हजार रुपैयाँमा काम भएको थियो । त्यसमा काठमाडौँ महानगरपालिकाले ५५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष महेन्द्रमान सिंह डंगोलकाअनुसार दोस्रो चरणमा करीव १४ लाख रुपैयाँको काम भयो । त्यसमा महानगरले थप ६ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
सो मन्दिर उद्घाटनपछि पुननिर्माणमा सहयोग गर्ने दाता र स्थानीयलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यस अवसरमा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यसहित जनप्रतिनिधिहरु सहभागी थिए ।
पुननिर्माणका लागि इनाखा युवा क्लवले पनि लागत सहभागिता जनाएको छ । समितिका अध्यक्ष डंगोलका अनुसार पुननिर्माण गर्दा आसनलाई करीव ३ फुट उचाइको बनाइएको छ भने सडकमै रहेकोले १८ इन्च दायाँ सारिएको छ ।
मन्दिरका पुजारी राजु डंगोलका अनुसार यो मन्दिर करीब ३ सय बर्ष पुरानो हो । मन्दिरमा प्रस्तर गणेश मूर्ति छ । पित्तलको मूर्ति भने पुजारीको घरमै राख्ने गरिन्छ ।
हरेक बर्ष भाद्र शुक्ल चौथीमा मन्दिरमा ल्याएर पञ्चमीका दिन फेरि घरमै लगिन्छ । नित्य पूजा भने प्रस्तर मूर्तिमा गरिन्छ ।
Categorized in सम्पदा/संस्कृति