काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विहिवार छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवनको शिलान्यास गरेका छन ।
सो अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गरेका थिए ।
काठामाडौं महानगरको ५ करोड सहयोग रकमसहित करीब ३५ करोडमा निर्माण हुन लागेको सो भवन १० आना १ दाम जग्गा क्षेत्रफलमा निर्माण हुने भएको छ ।
छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको सो अस्पताल पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ ।
भवन निर्माणका लागि काठमाडौँ महानगरले उपलब्ध २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो बर्ष ५ करोड रुपैयाँ दिनेछ ।
कोविड संक्रमणको दोस्रो लहर चलेका बेला महानगरले यस अस्पताललाई महानगरको कोविड विशेष अस्पतालका रुपमा चलाएको थियो ।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरुसँग सहकार्य गरेको बताईन ।
समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो । ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ ।
०७२ सालको भूकम्पको संकट, ०७५ तिर महानगरमा फैलिएको डेङ्गु र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोविडका समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदान रहेको छ ।
स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए ।
अस्पतालको विकासका लागि काठमाडौँ महानगरको आर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो ।
चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन ।
Categorized in स्वास्थ्य