२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नामसंगीति पर्वलाई ५ लाख रुपैयाँ हस्तान्तरण


प्रकाशित: सोमवार, १४ भाद्र २०७८, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । नामसंगीति पर्व निरन्तरताका लागि ललितपुर महानगरपालिका–१६ वडाले नेपाल परम्परागत बौद्ध धर्मसंघलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ ।


ललितपुरको नकबहीलस्थित पाटीमा नामसंगीति पाठसंगै वडाअध्यक्ष निर्मलरत्न शाक्य, वडा सदस्यहरु पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्य, पञ्चबज्र बज्राचार्य र विजय महर्जनले संघका महासचिव दिनेश शाक्यसहित संघका पदाधिकारीलाई संयुक्त रुपमा ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । विशेष दिन र गुँला पर्व अवधिभर एकमहिना टोलटोलमा बसेर नामसंगीति पाठ गर्ने परम्परा रहेको छ । बौद्ध अध्येयताहरुका अनुसार सो परम्परा नेपालमा ११ औं शताब्दीदेखि चलेको थियो ।


सो अवसरमा वडाअध्यक्ष शाक्यले काठमाडौं उपत्यकाको नेवाः बौद्ध समाजमा प्रचलित आर्य मञ्जुश्री नामसंगीति पाठ एउटा अर्मूत संस्कृतिको रुपमा रहेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि वडाको तर्फबाट सहयोग स्वरुप रकम प्रदान गरिएको बताए । 


संस्कृति, सम्पदा संरक्षणलाई वडाले निकै प्राथमिकतामा राखेको बताउँदै वडाअध्यक्ष शाक्यले भने ‘गुठी, संघसंस्था, स्थानीय जनताले सयौं वर्षदेखि यसको संरक्षण गर्दै आएको छ ।उहाँहरुलाई प्रोत्साहित गर्नुपर्ने दायित्व महशुस गरी वडाले सहयोग गरेको हौं ।’ 


सो अवसरमा संघका महासचिव शाक्यले हरेक वर्ष चैत्र पूर्णिमाको दिन ललितपुरमा सञ्चालन हुने नामसंगीति पर्वको निरन्तरताको लागि सो रकमको अक्षय कोष खडा गर्ने बताउँदै भन्नुभयो ‘त्यसबाट आउने ब्याज सो पर्वका लागि खर्चिने छौं । ’ बज्रपाणी नामक बोधिसत्वको आग्रहमा शाक्यमुनि बुद्धले चैत्र पूर्णिमाका दिन धान्यकटक महाचैत्यमा बसेर नामसंगीति बारे देशना गर्नुभएको बज्रयानी बौद्ध ग्रन्थमा उल्लेख गरिएको छ । मायाजाल तन्त्रराज सुत्र अन्तर्गत राखिएको नामसंगीति बुद्धत्व ज्ञान प्राप्त गर्ने चित्त उत्पन्न गर्नका लागि एउटा पवित्र चर्याको रुपमा पाठ गर्ने गरिन्छ ।


यस अघि सो वडाले कार्तिक नाच सञ्चालनको लागि स्थापित अक्षय कोषमा १० लाख रुपैयाँ कार्तिक नाचमा देखाईने नरसिंह र वराह नाचको लागि मुकुट र जिवित देवी कुमारीको आसन हस्तान्तरण गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex