काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध नेपालमा जन्मिए तर विहार सबै अरु देशको सहयोगमा निर्माण भएको पाईन्छ ।
सोमवार बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित बुद्ध मूर्तिको अनावरणको क्रममा शाक्यले सो कुरा बताएका हुन । केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका वुद्धको प्रतिमा अनावरण गरिएको हो ।
शाक्यले भने,‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए । बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ ।’
त्यसैले आफ्नो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालिएको शाक्यले बताए ।
सो अवसरमा मूर्ति अनावरण गरिसकेपछि प्रमुख शाक्यले बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएको बताए ।
महानगरले लुम्बिनीमा नेपाली शैलीको विहार बनाउन सघाएको छ । काठमाडौँको वडा २८ मा वुद्ध विहार, वडा ५ मा नरविहारलगायत अन्य विहारमा हाम्रो सहयोग छ ।
प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमति र छोराका नाममा दान गरेका हनु ।
प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थविरले शील प्रदान गरेका थियो भने भिक्षु संघबाट वुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो । भिक्षु ञाणाबुध स्थविरले उपदेश दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरिएको थियो ।
यो भवन बनाउन महानगरले करीव ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारकाअनुसार भवन निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको छ । महानगरले यत्तिका सहयोग गरेको छ । अब हाम्रो चाहना भनेको घरजग्गा कर मिनाहा गरिदेओस भन्ने हो ।
२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउनेलगायत काम गर्दै आएको छ ।
Categorized in सम्पदा/संस्कृति