काठमाडौँ । नरदेवी आयुर्वेदिक अस्पतालमा एचडीयुसहित ५० वेडको आइसोलेसन सञ्चालनमा आएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरका प्रमुख विद्यासुन्दर शााक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा शुक्रवार आइसोलेसनको शुभारम्भ गरेका हुन ।
आइसोलेसन सञ्चालन गर्न काठमाडौँ महानगर र अस्पतालविच गएको बैशाख २७ गते सम्झौता भएको सम्झौता अुनसार कोभिड अस्पतालको रुपमा नरदेवी आयुर्वेदिक अस्पताल सञ्चालनमा आएको हो ।
एकपटक खरिद गरेर पुग्ने उपकरण तथा सामाग्रीका लागि र नियमित खर्च गर्नु पर्ने कामका लागि महानगरले अनुदान उपलब्ध गराउने छ । अस्पतालको क्षमता ११८ वेडको हो । शुरुवात्मा २५ वेडको एचडीयू र २५ वेडको आइसोलेसन बाट सेवा थालिएको हो ।
सो क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जनताको जीवन रक्षाका लागि महानगरले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको बताए ।
वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, आयुर्वेद विभागका महानिर्देशक बासुदेव उपाध्यायले महानगरले उपयोग हुन नसकेको ज्ञान र सीपलाई विस्तार गर्न सहयोग गरेपछि अस्पतालले यसको सिद्ध गर्न काम गर्नुपर्ने बतए ।
अस्पतालले भर्ना भएका विरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण गर्ने, अक्सिजन थेरापी गराउने, ध्यान योग र मनोसामाजिक परामर्श गर्ने, श्वाशप्रश्वाश अभ्यास र छातीको थेरापी गराउने, चिकित्सा एवं मानसिक स्वास्थ्य प्रर्वधनका लागि सत्वावजय आध्यात्मिक प्रवचन, उत्प्रेरणामूलक प्रवचन, हास्यासन लगायत विधि अपनाउने छ ।
दैवब्यापाश्रय चिकित्साअन्तर्गत (मन्त्र चिकित्सा–महामृत्युञ्जय मन्त्र, विष्णु सहस्रनाम, हनुमान चालिसा, संकटमोचन मन्त्र, नवग्रह मन्त्र) गराउने, संगीत चिकित्सामा राग, भजन, वाद्यवादन गराउनेछ ।
अस्पतालले आयुर्वेदतर्फ ७ जना कन्सल्टेन्ट र आधुनिक चिकित्सातर्फ २ जना कन्सल्टेन्टसहित १२ जना आयुर्वेद चिकित्सक, ४ जना मेडिकल अफिसर, २२ जना नर्सिंङ् स्टाफ, २ जना फिजियो थेरापिस्ट, १५ जना आयुर्वेद स्वास्थ्यकर्मी, लेखा प्रशासन ५ जना र सफाइ तथा सहयोगी कर्मचारी २५ जनालाई आइसोलेसनका लागि खटाएको छ ।
Categorized in स्वास्थ्य