काठमाडौँ । काठमाडौँको सामाखुशीमा राधास्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर सुरु भएको छ ।
शुक्रवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त सेन्टरको शुभारम्भ गरेका हुन । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई पुरा गर्ने बताए ।
काठमाडौँ महानगरले राधास्वामी भवनमा आइसोलेसन सेन्टर सञ्चालन गर्ने लगायत विभिन्न निर्णय गरेपछि सो सञ्चालनमा आएको हो । कोविड रोकथाम र नियन्त्रणका लागि छलफल गर्न २०७८ बैशाख १४ गते विशेष कार्यपालिका बैठक बोलाएर निर्णय गरेका थिए ।
काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा सुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ । महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
नेपाल सरकार, कोविड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना, हेड क्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका नेपाल मेडिकल फाउन्डेसन सेन्टरका सरोकारवाला हुन ।
अहिले ८८ वेड अक्सिजन र ९६ साधारण सामान्यबाट सुरु भएको हो । आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिने बताईएको छ ।
त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित अधिकारीहरुको उपस्थिती रहेको थियो ।
Categorized in स्थानिय