काठमाडौैं । काठमाडौँ महानगरपालिकाद्धारा आ.ब. २०७५/७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यले शनिबार नगरसभा तथा तेश्रो अधिवेशनमा १६ वटा विषयगत नीतिमा १९१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
महानगरले नीति तथा कार्यक्रममा पुनः निर्माण र प्रदुषणलाई नियन्त्रणमा बिशेष जोड दिएको छ । त्यस्तै आउँदो वर्षलाई पूर्वाधार विकास वर्ष मानेर काम गर्ने, रानीपोखरी, धरहरा, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदाको पुनःनिर्माण महानगरको केन्द्रीय भवन (बागदरबार) को पुननिर्माण गरिने, सार्वजनिक पूर्वाधार निर्माणमा गुणस्तरियता अभिवृद्धिमा ध्यान दिने भएको छ ।
नीति तथा कार्यक्रममा समुदायको सीप तथा क्षमता विकासदेखि शहरी समृद्धि, शहरी सेवा सुविधा वितरणमा सन्तुलन, सुशासन, पारदर्शीता, पहुँचयुक्तदेखि प्रदेश सरकार, संघ सरकारसँग मिलेर सम्पादन गर्ने काम तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट महानगरीय गौरव बढाउने कामसम्म समेटिएको छ ।
स्थानीय नागरिकको जीवनस्तर उकास्न परम्परागत ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने, भौतिक तथा सामाजिक उत्थानको योजना बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिइने, महानगरको निर्माणमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता र साझेदारितालाई प्रश्रय दिने, बहुलगानीका सम्भावना बढाइने छ ।
Categorized in समाज