काठमाडौं । नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको शनिवार पशुपतिको आर्यघाटमा अन्तेष्टि सम्पन्न गरिएको छ ।
शुक्रवार राती जोशीको निधन भएपछि उनको पार्थिव शरिरलाई अन्तेष्टीको लागि पशुपति लगिएको थियो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए ।
यस अघि जोशीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिन उनको निवास याट्खा र केन्द्रीय कार्यलय सानेपामा राखिएको थियो । जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेता जोशीको शवलाई श्रद्धाञ्जली दिनका लागी सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरु पुगेका थिए ।
२०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।
२०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन ।
Categorized in राष्ट्रिय