काठमाडौँ । हनुमानढोका दरवारक्षेत्रको अनधिकृत पसलहरु हटाउन पुरातत्व विभागले ढिलासुस्ती गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बसन्तपुर दरवारक्षेत्र र तलेजु मन्दिरमा व्यापरिक प्रयोजनको लागी राखिएको पसलहरु हटाउन महानगरपालिकाले विभागलाई पत्रचार गरेपनि विभागले ढिलासुस्ती गरेपछि महानगरपालिले आफ्नो ध्यानकर्षण भएको बताएको छ ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने,‘ हामीले पुरातत्व विभागलाई पटक–पटक त्यहाँका अनधिकृत प्रयोजन हटाउन ताकेता गरेका छौँ । तर, विभागले ढिलासुस्ती गरिरहेको छ । हामीले ताकेता गरिरहेका छौँ ।’

शाक्यले विश्व सम्पदा सूचिमा सूचिकृत काठमाडौँका चार सम्पदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र परेकोले ती सम्पदा क्षेत्रहरुको संरक्षण, मर्मत, जिर्णोद्धार, तथा सम्वद्र्धन गरी प्राचिनता जोगाउनु काठमाडौँ महानगरपालिको दायित्व भएको बताएका छन ।
वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु हटाउन यस अघि विभगालाई पत्रचार गरिसकेको शाक्यले जानकारी दिए ।
प्रमुख शाक्यले स्थानीय बासिन्दाले समेत पटक–पटक त्यहाँको मौलिकता कायम गर्न महानगरपालिकासँग आग्रह गरेको पनि बताए । जनभावना र काठमाडौँ महानगरपालिकाले गरेको पत्राचार अनुसार काम होस भन्नेमा आफू रहेको शाक्यको भनाई छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले फागुन १४ गते पुरातत्व विगभालाई सो क्षेत्रका अनधिकृत पसलहरु हटाउन पत्राचार गरेको थियो ।
चैत ५ गते पुन पत्र पठाई ताकेता सुरु गरेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
यता पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले त्यो क्षेत्र पुरातत्वको क्षेत्राधिकार भित्र रहेको भन्दै जतिसक्दो छिटो प्रक्रिया पुराएर हटाउन आफूहरु सकारात्मक रहेको बताएका छन ।
गौतमले हनुमान ढोका दरबार संग्राहलय विकास समितिको बैठक बोलाएर आफूहरुले जतिसक्दो छिटो निर्णयमा पुग्ने बताउँदै महानगर प्रमुख शाक्यको निर्णयको स्वागत पनि गरेका छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in सम्पदा/संस्कृति