काठमाडौँ । कमलपोखरी पहिलो चरणको पुननिर्माण चैत्र मसन्तसम्म सम्पन्न हुने काठामडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन ।
महानगरपालिकाले पहिलो चरणको पुननिर्माण चैत मसान्तासम्ममा सम्पन्न गर्ने गरी तिव्र गतिमा कार्य भैरहेको प्रमुख शाक्यले जानकारी दिए ।
‘अबको केही दिनमै पोखरीमा साढे दुई करोड लिटर पानी भर्ने तयारीमा छौँ । पोखरी पुननिर्माणको काम ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको छ ।’ प्रमुख शाक्यले भने ।
शाक्यले आकाशे पानी पनि पोखरीमा जम्मा हुने व्यवस्था गरेको बताउँदै भने,‘ केही व्यक्तिले कंक्रिटको कमलपोखरी बनाएर सम्पदा मास्न लाग्यो भनी अनावश्यक विरोध गरेको छ, उनीहरुलाई डिजाइनका बारेमा सामान्य जानकारी समेत नलिई हचुवाका भरमा विरोध नगर्न र विकास निर्माणमा अवरोध नगर्न आग्रह गर्दछु ।’
पोखरी सत प्रतिशत बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि उनले बताए । कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने छ ।
संघीय र प्रदेश सांसद तथा स्थानीयको सल्लाह अनुसार नै हामीले कमलपोखरीमा कंक्रिट प्रयोग भएका भौतिक संरचना भत्काएका प्रमुख शाक्यले बताए । त्यसकारण पोखरीमा कंक्रिट प्रयोग गर्ने भन्ने कुरा भ्रम फैलाउने प्रयास मात्रै भएको उनको भनाई छ ।
प्रमुख शाक्यले कसैले व्यक्तिगत स्वार्थ राख्दै अवरोध नगर्ने हो भने यहि चैत भित्रमा पोखरी पुननिर्माणको पहिलो चरण सम्पन्न हुने बताए ।
यस्तो बन्दै कमलपोखरी
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले अब बन्ने कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थल रहने जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरी करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको भन्दै काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेम श्रेष्ठले उक्त पोखरी निर्धारित समय भित्रै सम्पन्न गर्ने गरी कामलाई दु्रतरुपमा अघि बढाएको बताए ।
करीब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमल पोखरीको स्वरुप अब फेरिने दाबी महानगरपालिकाको दाबी छ । कमलपोखरी नौ वटा चैत्य रहने छन भने पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ ।
पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छाना रहने छन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य राख्ने र पाँचओटा मकरधार निर्माण गर्ने पनि महानगरपालिकाको तयारी छ ।
Categorized in सम्पदा/संस्कृति