२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ललितपुरको भण्डारखालमा ६ सय वर्ष पुरानो परम्परा फेरि सुरु 


प्रकाशित: शुक्रवार, २८ फागुन २०७७, २१ः२३ बजे
- आकाश राजोपाध्याय

ललितपुर । ललितपुरको भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्रि गर्ने परम्पराले फेरी निरन्तरता पाएको छ । 


सय वर्षभन्दा बढि समयदेखि रोकिएको यो परम्पराले विहिवारबाट फेरी निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको रुद्राभिषेक पूजाको साथमा चण्डि पाठ गरेका थिए । 


तलेजुका पूजारीहरु वासुदेव ज्वालानन्द राजोपाध्यायले एकादश आवृत्ती रुद्राभिषेक पूजा गरेका थिए भने रक्षण राजोपाध्यायले सप्तसती चण्डि पाठ गरेका थिए । 


सोभन्दा अघि क्षमापूजा पनि सम्पन्न गरिएको थियो । रोकिएको परम्परालाई निरन्तरता दिन क्षमापूजा गरिएको थियो । महाशिवरात्रीको अवसर पारेर भण्डारखालमा मणिकेश्वर महोदवको रुद्रि गर्ने परम्परा रहेको थियो । 


तर यो परम्परा निकै समय अगाडीबाट रोकिएको थियो । पछिल्लो पटक यो रुद्रि कहिले गरिएको थियो भन्ने यकिनका साथ भन्न नसकिने पाटन संग्रहालयका अधिकृत सुरेश लाखे बताउनुहुन्छ । ‘यहाँ भएको अभिलेखको अध्ययनपछि महाशिवरात्रीको दिन यहाँ रुद्री गर्ने परम्परा रहेको जानकारी पाएँ’, लाखे बताउँछन् । ‘सय वर्षभन्दा बढि भएको हुनुपर्छ, यो परम्परा रोकिएको, यसपटकको महाशिवरात्रीबाट यो परम्परालाई पुनः निरन्तर गरिएको हो ।’ 


अभिलेख अनुसार यस मणिकेश्वर महोदवको शिवलिङ्गको स्थापना ने.सं ५३५ (वि.स. १४७१) पौष शूक्लपूर्णिमा बुधवारका दिन भएको थियो । जयज्योतिर्मल्लको पालामा वंथुनिम्ह निवासी यंकुलि वर्मा, उनकी पत्नी मदन लक्ष्मी र छोरा जयसिंहसहित भई शिवरात्री व्रत मनाउन साढे ३ रोपनी जग्गा राखी गुठी चलाई उक्त महादेव स्थापना गरेर रुद्राभिषेक पूजाको शुरुवात गरेको अभिलेखमा उल्लेख गरिएको छ । 


रुद्राभिषेक पूजा सम्पन्न भएपछि भोलिबाट यस मणिकेश्वर महादेवको नित्य पूजा पनि शुरु गरिने तलेजु पूजारी रक्षण राजोपाध्याय बताउनुहुन्छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex