काठमाडौं । काठमाडौं महानगरपालिकाले भूमिगत पानीलाई व्यवस्थापन गर्न ल्याएको ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि — २०७७’ स्वीकृत प्रदान गरेको छ ।
महानगरपालिकाको आईतवार वसेको बसेको ५८ औं कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षता बसेको बैठकबाट पारित भएको कार्यविधिमा भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलाप सम्बन्धि व्यवस्था छन ।
रिचार्ज काठमाडौं कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।
त्यसैगरी बैठकले ‘व्यवसायिक कार्ययोजना बनाउने सहयोग गर्ने सम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत भएको छ । सहरी योजना आयोगले तयार पारेका यी प्रबन्धहरु आयोगका सचिवालय प्रमुख डिल्ली बास्तोलाले सभामा प्रस्तुत गरेका थिए ।
यस अवधारणमा स्थानीय टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजना सम्बन्धी व्यवस्था छन । यसमा ४९ वटा कार्ययोजना तयार पार्ने लक्ष्य राखिएको छ ।
चालु आर्थिक बर्षमा व्यवसायिक कार्ययोजना तयारी सम्बन्धी कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बैठकले ‘जनप्रतिनिधिहरुको स्थानीय तह अनुभव आदान प्रदान आन्तरिक पर्यटन प्रवर्धन अवलोकन भ्रमण निर्देशिका’ अनुमोदन गरेको छ । यस निर्देशिकामा जनप्रतिनिधिको अवलोकन भ्रमण व्यवस्थापन तथा त्यस क्रममा पूरा गर्नुपर्ने दायित्वका प्रबन्ध गरिएको छ ।
यसैगरी ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रम सञ्चालन सम्बन्धि कार्यविधि — २०७७’ र ‘प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने सम्बन्धि मापदण्ड’ तयार गर्न सहमति दिएको छ ।
चाँगु नारायण नगरसँग नगर—नगर साझेदारी कार्यक्रम सञ्चालन गर्ने र डडेल्धुरा जिल्लाको अमरगढी नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय समेत बैठकमा भएको छ ।
बैठकले रिक्त कानुनी सल्लाहकारको पदमा सविना शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस अघि सल्लाहकारका रुपमा रहनुभएका रामप्रसाद सिटौला निर्वाचन आयुक्त नियुक्त हुनुभएपछि पद रिक्त थियो ।
बैठकमा मोहन विष्ट, नीलकाजी शाक्य, चिनीकाजी महर्जन, शुद्धकुमार डंगोल, नविन मानन्धर, हीरालाल तण्डुकार, मचाराजा महर्जनलगायत सहभागी रहेका थिए ।
Categorized in स्थानिय