काठमाडौं । काठमाडौ जिल्ला प्रशासनले पक्राउ परेका अभियान्ताहरुलाई अनुसन्धानको लागि भन्दै हिरासतमा राख्न म्याद थप गरेको छ ।
सोमवार जिल्ला प्रशासनले वालाजु वाईपासबाट पक्राउ परेका अभियान्ता सुमन सायमी लगायतका अभियान्ताहरुलाई थप ५ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।
प्रहरीले उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सायमी लगायतलाई अभद्र व्यवहारको मुद्दा लगाएर हिरासतमा राखेको छ ।
फागुन १२ गते वालाजु वाईपासमा अदालतको स्टेअर्डर विपरित स्थानीय उपभोक्ता समितिले सुचना केन्द्र बनाउन खोजेपछि सो को विरोध गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।
अभियान्ताहरु पक्राउ परे लगत्तै स्थानीय, नेवाः देय दबू, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारविरुद्ध संघर्ष समिति लगायत विभिन्न संघ, संस्थाहरुले अभियान्तारुलाई तुरुन्त विनाशर्त रिहाईको माग गर्दै आन्दोलन गरिरहेको छ ।
पक्राउ परेका अभियान्ताहरुलाई आफ्नो मातृभाषामा कुराकानी गर्नबाट बञ्चित गरेको तथा विभिन्न झुठ्ठा मुद्दाहरु लगाएर हिरासतमा राखेकोमा आन्दोलनरत संघ, संस्थाहरुले कडा आपत्ती समेत जनाएका छन ।
स्थानीय ३९ परिवारको घर भत्काएर काठमाडौं महानगरपालिकाले सो क्षेत्रमा सुचना केन्द्र बनाउने भनेपछि स्थानीय पीडित परिवारले लामो समयदेखि विरोध गर्दै आएको छ ।
Categorized in समाज