काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रिलाई प्रहरीले पक्राउ गरेपछि चौतर्फी विरोध भएको छ ।
विहिवार दिउँसो झाक्रीलाई उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि अहिले ओली सरकारको चर्को विरोध हुन थालेको छ ।
प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताले झाक्रीलाई विना सर्त रिहा गर्नु पर्ने बताएका छन । समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका ठाडो आदेशमा झाक्री पक्राउ गरेको बताउँदै अविलम्ब झाक्रीलाई रिहा गर्नु पर्ने बताए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता गगन थापा, काग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोईराला लगायतका नेताहरुले झाक्री पक्राउको कडा विरोध गरेका छन ।
झाक्री पक्राउ परेपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ । किन पक्राउ गरिएको हो ? कुन अवस्थामा राखिएको छ ? जस्ता विषयमा बुझ्न टोली गएको आयोगका अधिकारीहरुले बताएका छन ।
खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेर उनको अवस्था बुझेको छन ।
झाक्री पक्राउविरूद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट परेको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको झाँक्रीका अर्का वकिल गोविन्द बन्दीले बताएका छन ।
प्रतिनिधिसभा विघटनविरूद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। अधिवक्ता बन्दीका अनुसार दुबैको कदमविरूद्ध सर्वोच्च अदालतमा रिट दिने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै राजनीतिक अभिव्यक्ति दिँदा रिसइबी साँधेर प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको रिटमा उल्लेख छ ।
झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेको बताईएको छ । प्रहरीले झाक्रीलाई राज्यविरूद्धको कसुर गरेको अभियोगमा झाँक्रीलाई पक्राउ गरेको हो ।
Categorized in राष्ट्रिय