२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

आजबाट माधवनारायणमेला सुरु  


प्रकाशित: बिहिवार, १५ माघ २०७७, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । आजबाट हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।


हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने यस दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । 


पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव–नारायण स्वस्थानी ब्रतकथा आज बाट सुरु भएको हो । आजबाट एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।


पौराणिक कालदेखि स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस माधवनारायण स्वस्थानी व्रत साँखु–शालीनदी, भक्तपुर–हनुमानघाट, ललितपुरको ठेचो, मध्यपुर थिमि, बोडे लगायत बिबिन्न नेवार सुमदाय बसोबास रहेको स्थानमा हुने गर्दछ ।


स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।


आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।


माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन ।


यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि अलि कडा नियम बनाइएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।


मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको हो ।


व्रतालुहरु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ । साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड तोकिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex