२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्टोनहेञ्जहरू अहिले पनि रहस्यकै विषय


प्रकाशित: बुधबार, ३० जेठ २०७५, १०ः३९ बजे
- बिजयकृष्ण श्रेष्ठ

जब हामी बेलायतको इतिहास पढ्न थाल्छौँ, तब स्टोनहेञ्जको कुरा आइहाल्छ । वास्तवमा स्टोनहेञ्ज कुनै इतिहासको कुरा होइन, यो त त्यहाँको प्राग्ऐतिहासिक कालका स्मारक हुन् । चित्रमा हेर्दा सामान्य देखिने यी स्टोनहेञ्जहरू अहिले पनि रहस्यकै विषय बनेको छ । यसको खगोलीय महत्व के हो भन्ने विषय अहिले पनि अनुत्तरित नै छ । झण्डै १३ फिट अग्ला, ७ फिट जति चौडा ढुङ्गाहरू ठड्याई त्यसमाथि ढुङ्गा नै स्लाय्ब जस्तो गरी बिछ्याइएका हुन्छन् । यसबाट गोलाकार आकार बनाइएको हुन्छ र गोलाकारभित्र माटोको ढिस्को हुन्छ । यो पाग्ऐतिहासिक कालका चिहान नै हुन् भन्ने अहिलेसम्मको मान्यता छ, तर कतिपयले यसको निर्माणको उद्देश्य अरु नै हुनुपर्ने तर्कहरु पनि अघि सारेका छन् । हालै प्राध्यापक ज्योफ्री वेनराइट र तिमोथी डार्विलले यो ठाउँमा रोग निको पार्ने काम हुने र रोग निको पार्न नसकेर मरेकाहरु त्यहीँ गाडिएको तर्क अगाडि सारेका छन् ।


यस सँग विभिन्न किंवदन्तीहरु पनि जोडिएर रहेका छन् । स्टोनहेञ्जहरु दक्षिण पश्चिम इङ्ल्याण्डको विल्टशायर काउन्टीमा पर्ने एम्सबेरीमा रहेको छ । एम्सबेरी नगरक्षेत्रबाट ३ किलोमिटर जतिको दूरीमा स्टोनहेञ्जहरु रहेका छन् । पुरातत्वविद्हरुले कार्बन डेटिङ्ग गरेर यी स्टोनहेञ्जहरुको निर्माण ईसापूर्व ३००० देखि २००० को बीचमा भएको बताएका छन् । यो समय लौह युग र काँस्य युगको समय हो ।

 
“रहस्यमय स्टोनहेञ्जको तीन फन्को” नियात्रामा साहित्यकार कृष्ण बजगाईं लेख्छन्, “सिमेन्टको चौंडा पिल्लर जस्ता देखिने स्टोनहेञ्ज वास्तवमा अजङ्गका ढुङ्गा ताछेर ठड्याएइएको रहेछ । ती ढुङ्गा पाँचहजार वर्ष पुराना हुन् भनिन्छ । तर त्यति पुराना हुन भन्ने संकेत मैले कतै देखिन । ढुङ्गामा न त कुनै लिपि कुँदिएको थियो, न त कुनै चित्र वा आकृति खोपिएको थियो । तर पनि पुरानो होइन भनेर औंलो ठड्याउने कुनै आधार मसँग पनि थिएन । पुरातत्वविद् र वैज्ञानिकहरुले लामो अनुसन्धान र खोजबाट पत्ता लगाएको कुरालाई म सामान्य अवलोकनकर्ताले केही भन्न मिल्दैन थियो । त्यति पुरानो भएको विश्वास नलागे पनि विश्वास गर्न बाध्य भएको थिएँ ।


ती ढुङ्गाहरु एकआपसमा नजिक नजिकै चक्राकारमा ठड्याइएका थिए । जमिनमा गाडेर ठड्याइएको ती ढुङ्गा नौ मिटरसम्म अग्ला र बीस टनसम्मका रहेछन् । केही टुटफुट टुक्राहरु भुईंमा त्यसै लडिरहेका थिए । घर बनाउन सिमेन्टका पिल्लर ठड्याएर ठिक्क पारे जस्ता देखिने ती ढुङ्गामाथि बीम राखे जसरी नै झण्डै उत्रै आकारका ढुंगा सुताएर राखिएको थियो । झट्ट हेर्दा कुनै ठूलो भवन निर्माण गर्दागर्दै बिचैमा काम छाडिएको जस्तो देखिन्थ्यो ।

 
खेतिपाती हुने मलिलो समथर फाँटमा कसले र कुन प्रयोजनका लागि ल्याए होलान् ती ढुङ्गा ? त्यसको रहश्य अझसम्म कसैले पत्ता लगाउन सकेको छैन । तर पनि वैज्ञानिक, पुरातत्वविद्, इतिहासकार र खगोलशास्त्रीका आआफ्नै तर्क छन् । कसका कुरा पत्याउनु ? तिनका तर्क र कथा सुनेर म जस्तै अन्य मानिसहरु पनि अलमलमा परेका होलान् ।


स्टोनहेञ्ज वरपर ढुङ्गाको कुनै पहाड देखिदैन । ती अजङ्गका ढुङ्गा करिब बत्तिस किलोमटिर टाढाबाट उहीँ काँटछाँट गरेर ल्याइएको हो भन्ने वैज्ञानिकहरुको मान्यता छ । उतिखेर त्यत्रो भीमकाय ढुङ्गा  त्यति टाढाबाट त्यहाँ सम्म ल्याउनु आश्चर्य लाग्दो कुरा लाग्यो मलाई । त्यो बेला न त क्रेन थियो, न त ढुवानी गर्ने यातायातको साधन नै विकाश भएको थियो । कसरी ल्याए होलान् त्यहाँसम्म त्यत्रा अजंगका ढुङ्गाहरू ? यो कुरा सोच्दा सोच्दै दिमाग नै रन्थिनियो ।


केही ब्यक्तिका मत अनुसार दैत्यहरुले स्टोनहेञ्जको स्थापना गरेका हुन् भनेका छन् । अन्य केहीको मतमा मर्लिन नामको जादूगरले आफ्नो जादूद्वारा यसको स्थापना गराएको मान्दछन् । दैत्य र जादूगरमा विश्वास नगर्ने आधुनिक विचारका केही अनुसन्धानकर्ताहरु स्टोनहेञ्जलाई अर्कै ग्रहबाट आएका एलियनहरुले नै बनाएको हो भनेका छन् ।

 
टाढासम्म फैलिएको त्यो चौडा भूमि झट्ट हेर्दा रनवे जस्तै देखिन्छ । के त्यो समथर भूमि एलियनहरुले उतिबेला रनवेको रुपमा प्रयोग गरेका थिए त ? निकै बेर परसम्म त्यो समतल भूमिमा नजर लगाउँदछु । एलियनहरुको रनवे मासेर मानिसहरुले खेतिपाती पो गरेका हुन् त ? 


केही इतिहासकारहरुले स्टोनहेञ्जलाई पाँचहजार वर्ष पुरानो मानव सभ्यताको अस्तित्व मानेका छन् । यसको वरपरको उत्खननमा थुप्रै मानव कंकालका टुक्रा फेला परेकोले त्यहाँ कुनै सामुहिक चिहान भएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । त्यहाँ फेला परेका मानव कंकाल लगायत अन्य वस्तुहरु म्यूजियममा हेर्ने अवसर मिलेको थियो । त्यहाँ भेटिएको सामूहिक चिहान स्टोनहेन्जको निर्माण गर्नेे कामदारहरु र त्यस वरपरका अन्य मानिसहरुको हुन सक्ने अनुमान गरिएको छ ।

 
स्टोनहेन्जमा केही निला रंगका ढुङ्गाहरू पनि थिए । ती ढुङ्गामा कैयौं रोगहरुलाई निको पार्ने शक्ति छ भनिन्छ । उतिखेर उपचारका लागि त्यस ठाउँमा मानिसहरु आए होलान् । रोग निको नभएर मरेपछि त्यतै समाधिस्थ गरियो होला । तिनैको कंकाल भेटिएका हुन भनेर तर्क गर्नेहरु पनि छन् ।

 
केहीले यो पारम्परिक धार्मिक कर्मकाण्ड गर्ने ठाउँ थियो भनेका छन् । तर त्यसको पनि स्पष्ट प्रमाण फेला परेको छैन । तर त्यहाँ फेला परेका पुराना भाडाकुँडा, बन्चरो आदि सामग्रीले यस्तै कुराको संकेत गरेको मान्नेहरु पनि छन् ।

 
स्टनोनहेञ्जको ढुङ्गालाई वैज्ञानिकहरुले हरेक तरिकाले जाँचेका रहेछन् । ती ढुंगामा हिर्काउँदा एक विशेष प्रकारको ध्वनी निस्कन्छ रे । त्यसलाई उतिबेला घंण्टीकोरुपमा प्रयोग गरिन्थ्यो रे । हरेक ढुंगाको गुन्ज एक अर्कामा फरक रहेछन् । यसलाई हिर्काउँदा धातुको घण्टी जस्तै आवाज आउँदो रहेछ । उतिबेला यसलाई चर्च वा मन्दिरमा बजाईने घंण्टी जस्तै प्रयोगमा ल्याइको थियो होला भनेर अनुमान गर्दछु ।

 
मलाई त्यसको ध्वनी जाँच्न, सुन्न र त्यस बडेमानका ढुंगालाई स्पर्श गर्न मन लागेको थियो । त्यहाँ पुगेर स्पर्श गर्न वा जाँच्न थाले पक्राउ परेर जेलको हावा खाइने पो हो कि भन्ने डरले जाने आँट आएन । परैबाट हेरेर चित्त बुझाएँ ।”



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex