काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सहिदको योगदानको उच्च मूल्यांकन काठमाडौं महानगरले गरेको बताएको छ ।
मंगलवार सहिद सप्ताहको तेस्रो दिन सिफलस्थित सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा उनको सम्झनामा आयोजित श्रद्धाञ्जलीसभा सो कुरा प्रमुख शाक्यले बताएका हुन ।
प्रमुख शाक्यले सहिदहरुको योगदानको उच्च मुल्याङकन गर्दै उनीहरुको सम्झना चीरकालसम्म रहन सकोस भनी महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराएका थिए ।
काठमाडौँ महानगरपालिकाले चारै सहिद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) जनालाई मृत्युदण्ड दिएको स्थानमा पूर्ण कदको सालिक निर्माण गरेको छ ।
सहिदहरुको सम्झनामा काठमाडौँ महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको शालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै शाक्यले खुशी व्यक्त गरे ।
धर्मभक्तकै सम्झनामा उनको पुख्यौली ठाउँ काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ को ओमबहालमा ‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण गरेका गरेको प्रमुख शाक्यले बताए ।
त्यसैगरी उनको सम्झनामा ‘सहिद धर्मभक्त माथेमा मानवसेवा आश्रमका लागि पनि महानगरपालिकाले बजेट छुट्याएको छ । सिहिद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको उनले जानकारी दिए ।
सो अवसरमा प्रमुख शक्यले निरंकुशताबाट नेपाली जनतालाई मुक्त गराउन ज्यानको आहुती दिने सहिदहरुकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।
उनले भने ‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थियो । तर, उहाँहरुले व्यक्तिगत लाभ भन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’
माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । माथेमा वि. सं. १९६६ साल आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौंको ओमबहालमा जन्मिएका थिए ।
यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो ।
सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित सहिद स्मारक लैनचौर लगिनेछ । लैचचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।
Categorized in राष्ट्रिय