काठमाडौं । काठमाडौं महानगरपालिकाले सहिद सप्ताह मनाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन गरिने महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो ।
माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात माघ १६ गते शान्तिबाटिका भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याण्ड, मार्चपास र सहिदहरुको तस्विर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ ।
त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ । सभामा नेपाली सेनाले सहिदको सम्मानमा ‘सम्मान गारद’ अर्पण गर्नेछ । सेनाले त्यसै दिन मध्यान्न १२ बजे एक तोपको सलामी अर्पण गरिनेछ ।
प्रजातन्त्र प्राप्तिका लागि १९९७ सालमा सहादत प्राप्त गरेका सहिदहरुले प्राणदण्ड पाएका ठाउँमा महानगरले पूर्ण कदका प्रतिमा स्थापना गरिसकेको छ । त्यस्तै सहिद धर्मभक्त माथेमा जन्मेको वडा २३ ओमबहालमा पार्क निर्माण गरिएको छ ।
गएको बर्ष गंगालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गंगालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरिसकेको छ ।
वि. सं. २०१२ सालदेखि काठमाडौं नगरको संयोजकत्वमा सहिद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।
Categorized in राष्ट्रिय