काठमाडौं । ऐतिहासिक सम्पदा, संस्कृति बोकेको कमल पोखरीमा सोमवार राती डोजर चलेपछि अभियान्ताहरु रातारात संगठित भएका छन ।
डोजेरले माटो खनेर ओसार्न थालेपछि रातीनै अभियान्ताहरु एकजुट भएर माटो खन्ने काम रोक्न लगाएको अभियन्ता नरेन्द्र मानन्धरले बताएका छन ।
पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई चिठी लेखेर पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा असर पर्ने गरी निर्माण कार्य सञ्चालन नगर्नू भनेको थियो ।
तर राती साढे आठ बजेतिर अफिसबाट घर फर्कने क्रममा कमलपोखरी पुगेका थिए । त्यहाँ डोजरले धमाधम माटो खन्दै गरेको देखेपछि उनी चनाखो भए । तत्काल फोटो खिचेर कमलपोखरी संरक्षणमा लागेका अभियन्ताहरूलाई पठाएपछि अभियान्तारु भेला भएका थिए ।
अभियन्ताहरुका अनुसार कमलपोखरीको माटो खनेर बुढानिलकण्ठ लैजान लागिएको थियो । व्यापारिक सोच राखेर सम्पदा पुनर्निर्माण गर्दा मौलिक पहिचान नै मेटिने अभियान्ताहरुको भनाई छ ।
महानगरले कमलपोखरी निर्माणका लागि करिब ९ करोड ४७ लाख रूपैयाँ बजेट छुट्याएको छ। निर्माण क्रममा पोखरी सुकाइएको छ भने वरिपरि कंक्रिट संरचना र बीचमा कंक्रिटकै कमलको फूल बनाउने योजना छ ।
यस अघि पोखरीको ऐतिहासिकता र मौलिकता कायम राख्दै परम्परागत शैलीमै बनाउन माग गर्दै गत शुक्रबार आफ्नै अनुहारमा कमलपोखरीको माटो दलेर प्रदर्शन गरेका थिए ।





तस्वीर सौजन्यः नरेन्द्र मानन्धर, अभियान्ता (फेसबुकबाट)
Categorized in सम्पदा/संस्कृति