काठमाडौँ । आधुनिक सुचना प्रविधिको ज्ञान दिने तथा सोको अभ्यास गराउने उद्देश्यले आगामी असार ३ र ४ गते राजधानीमा ‘सूचना तथा सञ्चार प्रविधि सम्मेलन (आइसिटी) –२०१८’ हुने भएको छ ।
सोमबार कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सो सम्मलेनको बिषयम पत्रकार सम्मेलन गरेर क्यान महासंघका महासचिव रञ्जीत पोदारले जानकारी दिए ।
क्यान महासंघले यसअघिका सत्रौँ संस्करणसम्म आइसिटी कन्फ्रेन्सलाई क्यान इन्फोटेकको एउटा भागका रुपमा अघि बढाइरहेकामा यस वर्षदेखि विशेष प्राथमिकताका साथ अन्तर्राष्ट्रिय विज्ञ–विशेषज्ञसमेतको उपस्थितिमा छुट्टै कार्यक्रमका रुपमा आयोजना गर्न लागेको हो ।
स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नारा दिइएको आइसिटी सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले विशेष प्रस्तुती दिने कार्यक्रम रहेको अयोजकले जनाएको छ ।
सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, मलेसिया, सिंगापुर र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का विषयगत विशेषज्ञले पनि कार्यपत्र प्रस्तुत गर्नेछ ।
सो सम्मेलनमा स्मार्ट सोसाइटी, सूचना प्रविधिविज्ञ, उच्च सरकारी प्रतिनिधि, राजनीतिक नेतृत्व, स्थानीय तहका प्रतिनिधि तथा सम्बन्धित अन्य विज्ञको सहभागितामा समूहगत उच्चस्तरीय छलफल हुनेछ । सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, युएनडिपीलगायत सूचनासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहने जनाइएको छ । कार्यक्रमको मुख्य प्रायोजक सुविसु केबल नेट प्रालि रहनेछ ।
Categorized in प्रबिधि