४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

‘काठमाडौंको समृद्धिका लागि अरु नगर पनि समृद्ध र व्यवस्थित हुनु पर्दछ’ – प्रमुख शाक्य 


प्रकाशित: बुधवार, ८ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ समृद्धि हुनका लागि अरु नगर पनि समृद्ध र व्यवस्थित हुनु पर्ने बताएका छन । 


प्रमुख शाक्यले मंगलवार काठमाडौं महानगरपालिका र कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भएपछि सम्बोधनको क्रममा सो कुरा बताएका हुन । 


स्थानीय सरकारका विविधताभित्रका समानता खोज्ने, अनुभव र सिकाइ आदानप्रदान गर्ने उद्देश्यका साथ मुलुकभित्रका नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको शाक्यले बताए । 


सो अवसरमा शाक्यले भने, ‘आपसी सुदृढता र सबलताका लागि आपसी हित र सहकार्यलाई प्राथमिकता दिएका छौं । असल र सफल अभ्यास तथा अनुभवको आदान–प्रदान गरेर स्थानीय स्वशासन, सुशासन र समृद्ध नगर निर्माणमा सहयोग पुग्नेछ ।’


जुम्लास्थित उद्योग बाणिज्य महासंघको सभा कक्षमा दुई नगरबिच भगिनी सम्बन्ध स्थापना सहमति पत्रमा हस्ताक्षर भएको हो । भगिनी सम्बन्ध स्थापनापछि चन्दननाथ नगरपालिकाको वडा–३ मा रहेको धिमी पार्क निर्माणका लागि साझेदारी गर्ने सम्झौता पत्रमा हस्ताक्षर भयो । 


पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि निर्माण गरिने सो पार्कका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेटबाट १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने छ । सहमति र सम्झौता पत्रमा दुवै नगरका प्रमुखहरु, काठमाडौं महानगरपालिकाका प्रमुख शाक्य र चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालले हस्ताक्षर गरेकी छिन । 


सो अवसरमा प्रमुख सैजुवालले भनिन,‘  महानगरपालिकाको सहकार्यमा निर्माण हुने पार्क निर्धारित मितिमै सम्पन्न गरेर दुई नगरको मित्रता नागरिकले देख्ने, हेर्ने र महसुस गर्ने बनाउन प्रतिवद्धता व्यक्त गर्दछु ।’ महानगरसँगको सहकार्यमा निर्माण हुने पार्क आर्थिक वर्ष २०७८/०७९ भित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । 


कार्यक्रममा चन्दननाथकी नगर प्रमुख सेजुवालले काठमाडौंसँगको सम्बन्धबाट आफूले गौरव महसुस गरेको बताउँदै नगरबासीकातर्फबाट आभार प्रकट गरेकी छिन । जुम्ला जिल्लाको सिंजा खस भाषाको उत्पति भएको ठाउँका रुपमा परिचित छ भने काठमाडौं नेपाल भाषाको उत्पत्तिसँग जोडिएको ठाउँ हो । जुम्ला जिल्लामा चन्दननाथ मन्दिर, विराट दरबार, चिरमालिका, भैरवनाथ, कनका सुन्दरी, नाग्मालगायत चर्चामा रहेका ठाउँ छन ।


यस अघि लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । अन्तरराष्ट्रिय १६ वटा नगरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ । 


कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली लगायतका अधिकारीहरुको उपस्थिती रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika