२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने


प्रकाशित: बुधवार, १ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौँ । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन । 


काठमाडौँ महानगरपालिका शिक्षा विभागले बुधवार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो । 


छलफलमा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विदेशका धेरै सहरमा पनि कोभिडका कारण विद्यालय बन्द रहेको स्मरण गराउँदै अहिले काठमाडौँमा कोभिड नियन्त्रणमा आएको अवस्था नरहेको भन्दै हतार गर्नु नहुनेमा जोड दिनुभयो । 


काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिले जाडोको मौसम समेत रहेको भन्दै यस्तो बेलामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताउनुभयो ।


‘अहिले जाडो मौसम छ, यो समयमा विदा पनि हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिना भित्रमा ५० हजारको ‘एन्टीजेन टेष्ट’ गर्ने भनेको छ  । यो विचको अवधीमा अनलाइन कक्षालाई प्रभावकारी बनाउँ ।’ 


उहाँले बालबालिकाले स्वास्थ्य मापदण्ड आफै पालना गर्न समस्या हुने भन्दै एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको पनि अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा जोड दिनुभयो । 


स्वास्थ्य मन्त्रालयमा महानिर्देशक महेन्द्रमान श्रेष्ठले स्वास्थ्य मन्त्रालयले पुस महिनामै करीब ५० हजारको एन्टीजेन टेष्ट गर्ने तयारी गरेको भन्दै त्यसको अवस्था हेरेर मात्रै अघि बढ्न सुझाव दिनुभयो । 


काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको भन्दै विद्यालय सञ्चालन गरेकैले कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर मात्रै अघि बढ्दा राम्रो हुने बताउनुभयो ।


काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले सबै सरोकारवाल निकायसँग छलफल गरिरहेको भन्दै समन्वय गरेर मात्रै निर्णयमा पुग्ने बताउनुभयो । ‘आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उहाँले भन्नुभयो, ‘यो विचमा हामी निरन्तर छलफलमा रहन्छौँ । तयारी पनि अघि बढाइ रहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौ । अहिले तत्काल चाँहि खुल्ने अवस्था रहेन ।’
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex