काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले चःमती जग्गा एकीकरण आयोजना छिट्टै सम्पन्न गरिने बताएका छन ।
प्रमुख शाक्यले मंगलवार आयोजना क्षेत्रमा कालोपत्रे गर्ने कामको शुभारम्भ गर्दै आगामी मसान्तभित्र उपभोक्तालाई अयोजना फिर्ता गर्ने योजना समेत सुनाए ।
यो आयोजना सुन्दर सहरको निर्माण अभियानमा उदाहरणीय हुने प्रमुख शाक्यले बताए । सरोकारवाला यहाँ बसोबास गर्ने मानिसहरु नै भएको तथा जनप्रतिनिधि र कर्मचारी त केवल सहजकर्ता मात्र हो उनले भने ।
सो अवसरमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आयोजना सम्पन्न गर्न मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका थिए ।
कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, १६ का अध्यक्ष मुकुन्द रिजाल, स्थानीय उपभोक्ताकातर्फबाट धारणा राख्दै दीपेन्द्र काफ्लेले आयोजनाको बारेमा बोलेका थिए ।
समितिकातर्फबाट रत्नकाजी महर्जनले सडक कालोपत्रे गर्न सहयोग समितिका दायित्वमा परेका सबै जिम्मेवारी निर्वाह गरिने प्रतिवद्धता जनाए ।
आयोजना प्रमुख रामबाबु महतोकाअनुसार सडक कालोपत्रे गर्नका लागि २४ करोड ५० लाख रपैयाँमा काम थालिएको छ ।
संघीय संसद सदस्य जीवनराम श्रेष्ठ र प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यको संसद विकास कोषको रकम थपिएपछि ३ मिटर र ४ मिटरका सबै सडक कालोपत्रे हुने भएका छन ।
काठमाडौं महानगरपालिका र चःमतीका बासिन्दाको साझेदारीमा १ हजार ३६९ रोपनी जग्गामा जग्गा विकासको काम भइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्रका अव्यवस्थित वसोवासलाई व्यवस्थित र सुविधा सम्पन्न आधुनिक सहर वनाउने परिकल्पना गरेर चःमती जग्गा एकीकरण आयोजना सुरु गरिएको हो ।
Categorized in स्थानिय