काठमाडौं । स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको आनन्द भूवन विहारको शिलान्यास भएको छ ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विहिवार एक कार्यंक्रमविच विहारको शिलान्यास गरेका हुन ।
विहार २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । यसको पुननिर्माणका लागि बौद्ध परम्पराअनुसार शिलान्यास गरिएको हो ।
सो अवसरमा प्रमुख शाक्यले भने, ‘सम्पदासँग सम्बन्धित जुनसुकै योजनालाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिरहेका छौं । सांस्कृतिक पहिचानबाट पर्यटकीय प्रवर्धनका काम गर्छौ । यसबाट स्थानीयबासीको आयमा वृद्धि हुन्छ । सरकारलाई यस क्षेत्रबाट प्राप्त आयले सम्पदाको दिगो संरक्षणमा सघाउ पुग्छ ।’
संघीय संसद सदस्य जीवनराम श्रेष्ठले काठमाडौंका अनुपम सांस्कृतिक पहिचानलाई जोगाउनु महानगरको प्रमुख जिम्मेवारी रहेको बताउँदै भने, ‘सांस्कृतिक क्षेत्रको बचावटविना काठमाडौको समग्र विकास सम्भव छैन । यसमा महानगर सचेत भएको पाएको छु ।’
कार्यक्रममा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोल, भिक्षु कौडन्य महास्थवीर लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए
४ करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको विहार पुननिर्माणको पहिलो चरणमा करीब २ करोड रुपैयाँ बराबरको खर्चबाट पुननिर्माण कार्य हुनेछ ।
विहारका महासचिव वुद्धिमान शाक्यकाअनुसार २ करोडमध्ये ८५ प्रतिशत लागत महानगरबाट सहयोग प्राप्त हुनेछ भने १५ प्रतिशत उपभोक्ताकातर्फबाट राखिनेछ ।
अहिलेसम्म विहारमा आउने उपासक तथा शुभेच्छुकबाट ३४ लाख ८६ हजार रुपैयाँ प्राप्त भइसकेको छ । विहार २०३७ सालमा निर्माण भएको हो । विहारमा आवासीय भिक्षुहरुले बुद्ध शिक्षा लिई रहेका छन ।
Categorized in सम्पदा/संस्कृति