काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गुठी परम्परालाई जीवन्त राख्न महानगरले लगानी बढाउने बताएका छन ।
शनिवार कामपा वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदा जोगाएर गुठी परम्परालाई जीवन्त बनाइ राख्न लगानी बढाइएको बताएको हो ।
सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन व्यवस्थापनका काम गर्ने र यसबाट स्थानीयको आयमा वृद्धि गर्ने योजना प्रमुख शाक्यले सुनाए ।
विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रहेकामा पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । पहिलो चरणको पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्ने समितिका संयोजक अभयरत्न कंसाकारले जानकारी दिए ।
८५ प्रतिशत अर्थात ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुने कंकसारले बताए ।
सो अवसरमा प्रमुख शाक्यले बुद्ध दर्शनको साइनोबाट हामीले भर्खर लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको तथा भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका बताए ।
यस अघि महानगरले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न ४ करोड २० लाख सहयोग गरेका छ ।
शिलान्यास समारोहमा वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, १७ का अध्यक्ष नविन मानन्धरसहित कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र स्थानीयको उपस्थिति थियो ।
Categorized in सम्पदा/संस्कृति