काठमाडौं । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच शनिवार भगिनी सम्वन्ध स्थापना भएको छ ।
काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्या सुन्दर शाक्य र रामग्राम नगरपालिकाका तर्फबाट प्रमुख नरेन्द्र कुमार गुप्ताले सहमति–पत्रमा हस्ताक्षर गरे ।
हस्ताक्षरपछि दुवै प्रमुखले दुई नगरहरुका बिच भगिनी सम्वन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरे ।
आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो ।
भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको घोषणा गरे ।
हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बौद्ध दर्शका दृष्टिले काठमाडौं र रामग्रामका बिच गहिरो सांस्कृतिक सम्बन्ध रहेको स्मरण गराए ।
शाक्यले दुई नगरका सांगठनिक स्वरुप, संस्थागत संरचना र शासकीय भूमिकालाई सवल, सुदृढ र प्रभावकारी बनाउन एकआपसका अनुभव, कार्यशैली, असल अभ्यास र महत्वपूर्ण उपलब्धिहरु आदान प्रदान गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
काठमाडौ महानगरले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि रु. १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ ।
काठमाडौँ महानगरपालिकाले यस अघि पनि अमेरिका, चीन, भारत, दक्षिण कोरियालगायत विश्वका विभिन्न १७ वटा नगरसँग भगिनी सम्वन्ध स्थापना गरिसकेको छ भने नेपालको जुम्लामा रहेको चन्दननाथ नगरपालिकासँग पनि यस अघि नै भगिनी सम्वन्ध स्थापना गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै रामग्रामका प्रमुख गुप्ताले विदेशी सहरसँगभन्दा आफ्नै देशका सहरसँगका सम्भावना र चुनौती दुवै मिल्दा हुने भएकोले विदेशी नगरसँगभन्दा देशभित्रकै नगरसँग स्थापना हुने भगिनी सम्बन्ध लाभदायी हुने विचार व्यक्त गरेका थिए ।
सो अवसरमा कार्यक्रममा काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ‘दुई नगरबीच धार्मिक र सांस्कृतिक सम्बन्ध दिगो हुने अपेक्षा गरिन ।
Categorized in स्थानिय