काठमाडौँँ । खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुले बुधवारवाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ ।
काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार खाना खुवाउने कार्य सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार खानाका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरेको जानकारी दिए ।
‘काठमाडोँ महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी बैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ ।’
सापटकोटाले अहिले पनि खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको जानकारी दिए ।
उनले निशुल्क भोजनको गराउने स्थानमा सौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेको भन्दै अस्थायी रुपमा उक्त स्थानमा व्यवस्था गरेको पनि जानकारी दिदै भने ‘यहाँसँगै अन्य विभिन्न ठाउँमा पनि हामीले स्थान पहिचान गरेका छौँ, ।’
काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको आएको छ ।
महानगरले नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ । दुई दिन अघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले दिए ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड वढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।
Categorized in समाज