२ भाद्र २०८३, मंगलबार
Header

काठमाडौँ महानगर र पशुपति क्षेत्र विकास विच शवदाहगृह बनाउने सम्झौता


प्रकाशित: बुधवार, २८ असोज २०७७, १९ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण गरिने भएको छ । 


बुधवार काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 


काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे । 


सम्झौता अनुसार शवदाहगृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान  गरिसकेको र उक्त बोलपत्र हाल मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्याई बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्ने छ । 


सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौँ महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ ।


महानगर प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गरे काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्ने कतिपय काम पनि जुन संघ–संस्थाले गरिरहेका छन उनीहरुसँग सहकार्यमा गर्दै आएको छ,’ शाक्यले भने, ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।’ 


शाक्यले अहिले सञ्चालनमा रहेका दुई ओटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने थप तीन ओटा मेशिनले केही सहज हुने अपेक्षा गरेको बताए ।


‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ,’ उनले भने, ‘यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस भन्ने हेतुले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले चासो राखेको हो ।’ 


काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष  २०७७/०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिए । 


त्यसैगरी सो अवसरमा शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । 


कार्यक्रममा कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौँ महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताए ।


ढकालका अनुसार अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन । 


मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने ढकालले जानारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex