काठमाडौं । काठमाडौं महानगरले बजार अनुगमनको क्षेत्रलाई तिव्र वनाएको छ ।
महानगरको उपभोक्ता हित संरक्षण समितिले गएको २२ दिनमा तरकारी, फलफुल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको छ ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा महानगर उपप्रमुख तथा समितिका संयोजक हरिप्रभा खड्गीश्रेष्ठले अनुगमनको क्रममा २६ वटा पसललाई आर्थिक जरिवाना गराइएको बताईन ।
समितिले जरिवानाबाट १२ लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जरिवाना पर्नेले कम्तीमा १ हजार र बढीमा २ लाख ५५ हजार रुपैयाँ तिरेका छन ।
संयोजक हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो ‘कोरोनाका समयमा जनताहरु एकातिर आय श्रोत बिग्रिएर चिन्तित छन । अर्कातिर चर्को मूल्य वृद्धिले समस्यामा छन । हामीले जनताका समस्यासँगै व्यापारीका समस्या पनि बुझेका छौं । प्रतिकुल समयमा पनि खाद्य बस्तुको आपूर्ति गर्नुभएको छ । यो ठूलो कुरा हो । तर, यसकै नाममा कालोबजारी र ठगी गर्नुहुँदैन ।’ उहाँले थप्दै भन्नुभयो — ‘महामारी छ भनेर जे पनि गर्ने छुट कसैलाई छैन ।’
महानगरका सहसचिव राजेश्वर ज्ञवालीले संबिधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर काठमाडौंको तरकारी, फलफुल र माछामासुको बजार व्यवस्थापन गर्न महानगर सक्षम रहेको पत्रकार भेटघाटमा वताए । वाणिज्य आपूर्ति र उपभोक्ता हित संरक्षण बिभाग र खाद्य तथा गुण नियन्त्रण बिभागको सहयोग आवश्यक छ । हाम्रो नेतृत्वमा उहाँहरुको सहयोग भयो भने काठमाडौंको बजार अनुगमनमा एकद्वार प्रणाली बिकास हुने ज्ञवालीको भनाई थियो ।
कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले, अनुगमन क्रममा पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रत्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको हेरिएको थियो जानकारी दिए ।
काठमाडौंका ठूला तरकारी बजारहरुमा कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वरको फलफुल पसल हेरिएको छ ।
दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली क्षेत्र हेरिएको छ । बजारमा खरिद बिक्रीको चक्र थाहा पाउन अनुगमन टोलीले खुद्रादेखि होलसेलसम्म पसलहरुलाई प्रतिनिधिमुलक रुपमा हेरिसकिएको छ ।
अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफुल बजारका २ र बल्खु तरकारी तथा फलफुल बजारका २ गरी ४ जना व्यापारी कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको थियो ।
व्यापारीले बजारमा ४६ रुपैयाँमा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० रुपैयाँ मूल्यमा बेचिरहेका थिए । उनीहरुबाट बरामद भएको १३ हजार २ सय ६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम ६० रुपैयाँ प्रतिकिलो रुपैयाँमा प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ ।
त्यसैगरी बिक्रीका लागि राखिएका उपभोग गर्ने समय सकिएर प्रयोग गर्न नमिल्ने सामान बेचिरहेका ११ वटा पसलबाट करीब १० लाख रुपैयाँ मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ ।
नष्ट गरिएका सामानहरुमा दल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफुल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन ।
अनुगमन टोलीका सदस्य एवं उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना, टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, महानगरको पशु सेवा बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी छन ।
Categorized in बजार