काठमाडौं । काठमाडौं महानगरपालिका वडा ७, ९ र ३० मा गुर्जो रोप्ने अभियान सुरु भएको छ ।
शनिवार पूर्व स्वास्थ्य मन्त्री तथा नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले गुर्जो गुर्जो रोपण तथा वितरण कार्यक्रम शुभारम्भ गरेका छन ।
थापाले कोविड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न तथा अहिलेका हरेक व्यवहार पूर्ण सजगताका साथ सञ्चालन गर्नु पर्ने बताएका छन ।
कोविड संक्रमणबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुपर्नेहरुका लागि अस्पतालहरुमा ठाउँ भेट्न कठिन भइसकेको अहिलको अवस्थामा यो चाप घटाउन नागरिकले स्वास्थ्य सेवा मापदण्डको पालना गर्नुपर्ने थापाको भनाई छ ।
थापाले भने,‘गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ । यसैकारण सरकारले यसलाई बिशेष महत्व दिएको हो । तर गुर्जोले काम गर्छ भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्छ । त्यसैले सबै काममा सन्तुलन कायम गरौं ।’
कार्यक्रमको थालनीमा स्थानीय ९७ बर्षिय आशाकाजी महर्जन लाई गुर्जोकोकेि विरुवा प्रदान गरिएको थियो । रातोपुलदेखि कालोपुलसम्मको सडक खण्डमा गुर्जो रोपिएको छ ।
कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहोरमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य थियो ।
गुर्जोका विरुवा कमलबहादुर राजलवटले उपलब्ध गराएका थिए । कार्यक्रममा महानगरको वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आफ्ना वडाहरुमा स्थानीयबाट गुर्जोका विरुवाको धेरै माग रहेको बताए ।
रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले एकघर एक विरुवाका दरले सबै घरलाई विरुवा उपलब्ध गराइने जानकारी दिए ।
Categorized in समाज