काठमाडौं । नेपाली कांग्रेससहित ३ तीन दलले सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेहरुलाई कार्वाहीको माग गरेको छ ।
विपक्षी दल कांग्रेस, जनता समाजवादी दल र राप्रपाका शीर्ष नेताहरुको सोमवार वसेको बैठकले कार्वाहीको माग गरेको हो ।
बैठकले सरकारकै संलग्नतामा सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको दावी गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’
त्यसैगरी बैठकले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ ।
लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत माग गरेका छन ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, राधेश्याम अधिकारीको उपस्थिती रहेको थियो ।
त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका तर्फवाट महन्थ ठाकुर, डा. वावुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोको सहभागीता रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट डा. प्रकाशचन्द्र लोहनीले बैठकमा सहभागी जनाएको थियो ।
Categorized in राष्ट्रिय