३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

गुठी विधेयकमा फेरि खवरदारी आवश्यक


प्रकाशित: आईतबार, २५ फागुन २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो भन्नुभएको हो ।


कार्यक्रममा बोल्दै ताम्रकारले सरोकारवालासँगको परामर्श वा सहभागीता विना ल्याउन लागिएको गुठी विधेयक आफुहरुलाई कुनै हालतमा स्वीकार नहुने बताउनुभयो । यसको विरोधमा फेरी पनि सडक तताउनुपर्ने अवस्था आउनसक्ने भन्दै सबै जातीय साथै सामाजिक संघसंस्थाहरु तयार रहनुपर्ने बताउनुभयो ।


कार्यक्रममा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिँदै समाजको नाम उच्च बनाएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मानित गरिएको थियो । धर्म, सँस्कृति, परम्पराको अध्ययन, अनुसन्धानमा निरन्तर योगदान पु¥याउने सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायलाई सम्मान गरियो । यसैगरि बास्केटबल खेलका राष्ट्रिय खेलाडी सुब्रत राजोपाध्याय पनि सम्मानित भए । सम्मानित दुवैलाई समाजका अध्यक्ष अमरराज राजोपाध्यायले दोसल्ला ओढाए भने दबूका अध्यक्ष ताम्रकारले सम्मान पत्र प्रदान गर्नुभयो ।


सम्मान ग्रहण गरिसकेर बोल्दै सँस्कृतिविद् जुजुले वैदिक सभ्यता विकास हुनु अघिका सभ्यता, सँस्कृतिको बारे अध्ययन गरी अभिलेखीकरण गरिनुपर्नेमा जोड दिनुभयो ।


अर्का सम्मानित बास्केटबल खेलाडि सुब्रत राजोपाध्यायले ठट्टैठट्टामा बास्केटबल खेल्दै राष्ट्रिय खेलाडी बन्न पुगेछु भन्दै आफ्नो क्षेत्रमा समाजको लागि केही योगदान दिन पाएको महसुस हुँदा गर्व लागेको बताए ।


सोही कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मानित गरिएको थियो ।


समाजको वार्षिक कार्य प्रगती प्रतिवेदन पेश गर्दै समाजका महासचिव बिराजकाजी राजोपाध्यायले समाजभित्र लुकेर बसेका प्रतिभाको खोजी गर्ने क्रममा यस वर्ष गायन प्रतिभाको खोजीको थालनी भएको बताउँदै आगामी वर्ष नृत्य प्रतिभाको खोजी गर्ने उद्घोष गर्नुभयो । कोषाध्यक्ष जयन्ती शर्मा राजोपाध्यायले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।


समाजका निवर्तमान अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले गत फागुन १७ गते सम्पन्न राजोपाध्याय गायन प्रतिभाको खोजीको अडिसनबाट छानिएका प्रतियोगीहरुको नाम सार्वजनिक गर्नुभयो । समाजका अध्यक्ष अमरराज राजोपाध्यायले समाजको वृहत्ततर विकासका लागि समाज सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 


कार्यक्रममा वैदिक प्रतिष्ठानका अध्यक्ष उपेन्द्रभक्त सुवेदी, ज्यापु समाजकि सचिव सरिता महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजबीर बज्राचार्य लगायतले जातीय साथै विभिन्न सामाजिक संघसंस्था र विभिन्न तहका सरकारबीचको सहकार्यबाट समाजको विकास हुनसक्नेमा जोड दिएका थिए ।


उपत्यकाका देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठनको रुपमा राजोपाध्याय समाजको गठन २०६४ सालमा भएको हो । समाजले वर्षेनी समाजलाई विभिन्न प्रकारले योगदान दिने व्यक्तित्वहरुको सम्मान गर्दै आएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex