माइकल एन्जेलो, लियोनार्डो डा भिन्ची, वेटिसिली, राफल, गियट्टो जस्ता रेनेसाँका महान् कलाकारहरु, दाँते अल्येगिरी जस्ता महान् साहित्यकार, अनि मकियावेली जस्ता महान् राजनीतिज्ञसँग इटलीको फ्लोरन्सको नाम जोडिएको छ । फ्लोरेन्स यिनीहरुको जन्म भूमि र कर्मभूमि हुन् । युरोपमा मध्ययुगीन कालरात्रीको अन्त्य भई जुन पुनर्जागरण वा रेनेसाँ शुरु भयो, त्यो नगरको नाम नै फ्लोरेन्स हो । फ्लोरेन्स मध्य इटलीको टस्कनी क्षेत्रको राजधानी हो । इटलीको राजधानी रोम भए पनि प्रामाणिक इतालवी भाषा चाहिँ फ्लोरेन्सकै भाषिकाको आधारमा चलेको छ ।
मध्ययुगीन समयमा फ्लोरेन्स व्यापार र वित्तको लागि प्रसिद्ध थियो र त्यो समयको युरोपमा सबभन्दा समृद्ध नगर थियो । यहाँ धेरै राजनीतिक उथलपुथलहरु पनि भए । यसमा धार्मिक र गणतान्त्रिक क्रान्तिहरु पनि छन् । शक्तिशाली मेडिसी परिवारको आधिपत्यको बारे विशेष उल्लेख हुने गरेको छ ।
फ्लोरेन्सको ऐतिहासिक केन्द्र, जो पुरानो फ्लोरेन्स हो, त्यसलाई युनेस्कोले सन् १९८२ मा विश्व सम्पदा सूचीमा सूचीकृत ग¥यो । जस्तो काठमाडौं उपत्यका नै एकै विश्वसम्पदा हो भनेर भनिन्छ ,त्यसै गरी विभिन्न स्मारकहरु रहेको फ्लोरेन्सको ऐतिहासिक क्षेत्र पनि विश्वसम्पदा मानिएको हो । पुनर्जागरण (रेनेसाँ) कालका कला र स्थापत्यकला (आर्ट एण्ड आर्किटेक्चर) का साथै संस्कृति यहाँका प्रमुख विशेषता हो । यहाँ कैयौँ संग्राहलय र आर्ट ग्यालरीहरु छन् । यी मध्ये युफिजी ग्यालरी र पोलाजो पिटी दरबार विशेष उल्लेख्य छन् । यिनीहरु अझै पनि चित्रकला र स्थापत्यकलाको क्षेत्रलाई प्रभावित पार्दै आइरहेका छन् । अमेरिकाको फोब्र्स म्यागजिनले फ्लोरेन्सलाई संसारकै सबभन्दा सुन्दर नगरीको रूपमा दर्ज ग¥यो । फ्लोरेन्स इतालवी फेसनको शहर पनि हो । फोब्र्स म्यागजिनले यस शहरलाई विश्वका १५ उत्कृष्ट फेसन शहरहरुको सूचीमा पनि राखेको छ । यसका साथै यो शहर इटालीकै मुख्य औद्योगिक, पर्यटकीय र आर्थिक केन्द्र पनि हो । फ्लोरेन्स रोमन शहरको रूपमा विकास भयो । पछि मध्ययुगको कालमा यो आर्थिक, व्यापारिक, बैंकिङ्ग केन्द्रको रूपमा विकसित भयो । फ्लोरेन्सको सुनको मुद्रा फ्लोरिनले युरोपको व्यापार र आर्थिका विकासमा उत्तिकै योगदान पु¥यायो । बेलायत र फ्रान्सको बीच भएको प्रसिद्ध १०० वर्षे युद्धमा फ्लोरेन्सकै ब्यांकरहरुले बेलायतलाई आर्थिक रूपले मद्दत पु¥याए ।
इटालीको प्राचीन सभ्यता मानिने इट्रस्कन सभ्यताको बेलामा यहाँ ईसापूर्व २०० तिर बस्ती बस्न शुरु भएको थियो । पछि यो क्षेत्र सल्ला भनिने रोमन शासकले ध्वस्त बनायो । त्यस पछि रोमन सम्राट जुलियस सिजरले ईसा पूर्व ५९ मा आफ्ना भेट्रान सैनिकहरुको बसोबासका लागि बस्ती बसायो । त्यो बेला यसलाई फ्लुयन्सिया भनिन्थ्यो । अहिले इतालवी भाषामा फ्लोरेन्सलाई फिरान्त्से भनिन्छ ।
फ्लोरेन्सामा धेरै दर्शनीय स्थल र स्मारकहरु रहेका छन् । यसमा सन्त मरियमको क्याथेड्रल प्रसिद्ध छ । सन् १२९६ मा निर्माण शुरु गरी सन् १४२६ मा सम्म पनि बनाइएको यसको क्याथड्रल गुम्बज शैलीका लागि प्रसिद्ध छ । यसलाई फ्लोरेन्सको गुम्बज भनेर पनि चिनिन्छ । यहाँको गुम्बज चोक, बप्तिस्मा क्षेत्र र घण्टाघरलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा राखेको छ । क्याथड्रलको गुम्बज निर्माण भएको ६०० वर्ष पछि पनि ईंट र चुनसुर्कीले बनेको विश्वकै सबभन्दा ठूलो गुम्बज हो ।
फ्लोरेन्सको आर्नो नदी पनि यहाँको इतिहासको एक पक्ष हो । यो नदीले यहाँका समृद्धिमा पनि उत्तिकै योगदान पु¥यायो भने बाढीले गर्दा उत्तिकै विनाश पनि ग¥यो । नदीमा रहेको पुरानो पुल पनि दायाँबायाँ किनारमा रहेका पसलहरुका कारण उत्तिकै प्रसिद्ध छ ।
फ्लोरेन्सको मध्यभागमा रहेको सिग्नोरिया चोकको वरुणको फोहरा (फाउन्टेन अफ नेप्च्युन) अर्को दर्शनीय स्मारक हो । यो सिंगमरमरले बनेका विश्वका उत्कृष्ट प्रतिमाहरुमध्येको यो एक हो । प्रसिद्ध मूर्तिकार बार्तोलोमियो अम्मानतीले यसलाई बनाएको हो ।
यहाँबाट नजिकै रहेको पुरानो दरबार अर्थात् पालात्सो भेक्यो अर्को दर्शनीय स्थल हो । यो फ्लोरेन्सको सभागृह पनि बनेको छ । मेडिसी शासक खलक पालात्सो पिटीमा सरेर गए पछि यसलाई पुरानो दरबार भनिन थालिएको हो । यसको निर्माण सन् १२९९ मा भएको हो । यसका तीन चोक र ठूलो हल प्रसिद्ध रहेको छ । दरबार भवनमा घण्टाघर समेत रहेको छ ।
सान लोरेन्जो गिर्जाघरमा फ्लोरेन्सका इतिहासमा शक्तिशाली शासक खलक मेडिसी परिवारको चिहान रहेको छ । उफिजी ग्यालरी चाहिँ सिग्नोरिया चोकमै रहेको छ । यो चोक फ्लोरेन्सबासीहरुको दैनिक जनजीवनमा आवतजावत र गतिविधि हुने चोक हो ।
सदियौँ सम्म यहाँ सरकारी कार्यालयहरु रहे । अहिले पनि फ्लोरेन्सको नगरपालिका यहीँ रहेको छ । कला र राजनीतिका घटनाक्रममा यो चोक साक्षी बनेको छ । जस्तो सन् १३०१ मा साहित्यकार दाँते अल्येगिरीलाई यहीँबाट देश निकाला गरिएको हो । त्यस्तै सन् १४७८ मा यहाँ मेडिसी परिवारको विरुद्ध विद्रोह भड्काइयो । यसमा पेरी डी मेडिसीलाई मारियो र उसको भाइलाई घाइते पारियो । फ्लोरेन्सबासीहरु उठेर विद्रोहीहरुलाई समातेर दरबारको झ्यालमा झुण्ड्याए ।
उफित्सी ग्यालरी फ्लोरेन्सको संसारमा बढी पर्यटकहरु पुग्ने कला संग्राहलयहरु मध्येको एक हो । यो फ्लोरेन्सका नगर प्रशासकका कार्यालयहरु रहनका लागि बनाइएको भवनमा रहेको छ । यहाँ माइकल एन्जोलोको द होली फ्यामली, लियोनार्दो दा भिन्सीको द अनन्सियसनदेखि लिएर रेम्ब्रान्टको सेल्फ पेट्रेट एज ए यंग म्यान सम्मका विश्वप्रसिद्ध चित्रहरु रहेका छन् ।
Categorized in सम्पदा/संस्कृति