काठमाडौं । कृषि बिकास बैंकबाट अन्तराष्ट्रिय ह्याकरको गिरोहले ४ करोड ७३ लुटेपछि पछि ५ अर्ब लुट्ने ह्याकरको योजना असफल भएको छ ।
कृषि विकास बैंक लहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ लुटेको खुलासा महानगरीय प्रहरी अपराध महाशाखाका सार्वजनिक गरेको छ ।
महाशाखाले बुधवार पत्रकार सम्मेलन गरी नेपाली एजेन्टहरुलाई कमिशनको लोभमा पारी विदेशी ह्याकरले नेपालको विभिन्न बैंकबाट कसरी पैसा धमाधम लुट मच्चाएको बेली विस्तार लगाएको छ ।
अफ्रिकन नागरिक पिटरले मुम्बुईबाटै योजना बनाएर लुटेको रकमको १५ देखि ३० प्रतिशत कमिसन दिने सर्तमा ह्याकरले नेपालमा एजेन्टहरू प्रयोग गरेको महाशाखाले खुलासा गरेको छ ।
पिटरले नेपालका बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएको महाशाखाले पत्रकार सम्मेलनबाट बताएको छ ।
महाशाखाले हालसम्म १२ जनालाई पक्राउ समेत गरेको छ भने अन्य ८ जना फरार रहेका छन ।
पक्राउ पर्नेहरुमा नुवाकोट मेघाङ गाउँपालिका – ४ का लवाङ तामाङ, रसुवा नौकुण्ड गाउँपालिका–५ की लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ रहेका छन ।
त्यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका–२ का सञ्जय घले, सर्लाही हरिवन नगरपालिका–२ का पुष्पराज खड्का, लमजुङ दोर्दी गाउँपालिका–३ का विद्यासागर लामिछाने, तनहुँ भानु नगरपालिका–९ का श्रवणकुमार श्रेष्ठ रहेका छन ।
भक्तपुर ठिमी नगरपालिका–४ की सुनिता श्रेष्ठ, भारत कलकत्ता घर भई काठमाडौं बस्दै आएका शुबन्कर पन्जा, कैलाली भजनी नगरपालिका–३ का विजय साह र भजनी नगरपालिका–१ कै चन्द्रबहादुर बुढा रहेका छन ।
महाशाखाले पत्रकार सम्मेलनम जनाए अनुसार मुख्य एजेन्ट लवाङले बानेश्वरस्थित पानस रेमिट कम्पनीबाट निकालेको पैसा रहस्यमय देखिएपछि पानसका कर्मचारीले प्रहरीलाई खवर गरेपछि यो रहस्य खुलेको थियो ।
तामाङको नाममा विदेशबाट ह्याकरले विभिन्न स्थानबाट २० पटक ६०÷६० हजारको दरले रकम पठाएको देखेपछि पानसका कर्मचारीले भुक्तानी दिन छाडेका थिए ।
प्रहरीले लवाङको गोंगबस्थित शाखाको खातामा पचास लाख रुपैयाँ रकम ह्याकरले पठाएको भेटिएकोमा ३१ लाख रुपैयाँ निकालेर घरमा लगिसकेका थिए । प्रहरीले सो रकम बरामद गरेको छ ।
प्रहरी अनुसन्धानमा अगस्ट २० तारिखदेखि नै बैंकमा हमला गर्न पिटरले नेपाली एजेन्ट खटाएको बुझिएको महाशाखाको अनुसन्धानबाट पत्ता लागेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी नाउब उपरीक्षक दुर्गा दाहालका अनुसार पिटरले भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) को सहायताले कृषि विकास बैंकको सिस्टम ह्याक गराएका छन ।
ह्याकपछि सिरहा शाखाको कम्प्युटरबाटै उनले चार करोड ७३ लाख रकम एकैछिनमा विभिन्न व्यक्तिको खातामा जम्मा गराइदिएका थिए ।
बैंकको कैलाली शाखाबाट १९ लाख रुपैयाँ निकालिएको थाहा भएको छ । यो समूहले अन्यत्रका बैंकबाट पैसा निकाल्ने योजना बनाइरहेको खुलेको छ ।
Categorized in बैंक