काठमाडौं । जय बागेश्वरी मन्दिर पुननिर्माणको काम रोकिएको छ ।
दुई पटक क्षमा पुजा गरेर पुननिर्माण थालिएको बागेश्वरी मन्दिरको पुननिर्माणको क्रममा मन्दिरको भित्री भागमा ३ वटा गजुर भेटिएपछि पुननिर्माणको काम रोकिएको हो ।
२०७२ सालको भूकम्पले माथिल्लो तलामा क्षति पुगेपछि पुननिर्माणको काम सुरु गरिएको थियो । गजुर भेटिएपछि मन्दिरको वास्तविक संरचना कस्तो थियो भन्ने अध्ययन आवश्यक देखिएकोले पुननिर्माण रोकिएको हो ।
पशुपति क्षेत्र बिकास कोषको योजना महाशाखाका निर्देशक भरत मरासिनीका अनुसार उक्त संरचना भट्ट हेर्दा कोही शक्तिशाली व्यक्तिले भित्री मन्दिरलाई यथावत राखेर बाहिरी संरचना थपेको जस्तो देखिन्छ ।
मारासनीले मन्दिर पुननिर्माण थालनी गर्दा यस्तो होला भन्ने सोचाइ नै थिएन । भत्काउँदै जाँदा अचम्म तरिकाबाट गजुर भेटिएपछि अध्ययनका लागि पुरातत्व बिभागलाई भनेको बताए ।
काठमाडौं महानगरपालिका वडा ८ क्षेत्रमा रहेको जय बागेश्वरी मन्दिरको गजुरतर्फबाट तल हेर्दा दुई तहमा निर्माण भएको देखिन्छ । बाहिरी तह र भित्री तहका गारो, गारो बनाउन प्रयोग गरिएको माटोको रङ्ग फरक देखिन्छ ।
मन्दिरको पुननिर्माण हेरिरहेकी पुरातत्व बिभागकी पुरातत्व अधिकृत अमृता महर्जनका अनुसार मन्दिरमा रहेको महासरस्वतीको पाउमा भेटिएको अभिलेखका आधारमा मन्दिर लिच्छवीकालमा निर्माण भएको हो ।
त्यसपछि बि. सं. १७३१ देखि १७३७ को बीचमा नृपेन्द्र मल्लका पालामा यसको जीर्णोद्धार गरिएको महर्जनले बताए ।
Categorized in सम्पदा/संस्कृति