काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि १५ खर्बमाथिको बार्षिक बजेट मंगलबार प्रस्तुत गर्ने बजेटलाई स्वीकृत प्रदान गर्न दिउँसो २ बजे मन्त्रीपरिषद्को बैठक समेत बस्ने भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज दिउँसो ४ बजे संघीय संसदको २ सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्य्विधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नेछन् ।
अर्थमन्त्रीले महँगा गाडीमा बढी कर लगाउने रणनीति अख्तियार गरेका छन् । आय करको दरहरुमा पनि हेरफेर गरिएको छ । संघियता पूर्ण कार्यान्वयनमा आउँदासमेत अर्थमन्त्रीले ७५ प्रतिशत स्रोत केन्द्रमै राखेका छन् भने बाँकी २५ प्रतिशत प्रदेश र स्थानीय तहमा पठाउने भएका छन् ।
संघीय सरकारले मानव विकास सूचकांक, पूर्वाधार सूचकांक र न्यून विकास सूचकांकको आधारमा स्थानीय तह र प्रदेशलाई अनुदान उपलब्ध गराइँदै छ । यीनै तीन आधारमा संघीय सरकारले राजस्व बाँडफाँट पनि गर्ने तय भएको छ । संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले आन्तरिक अन्तशुल्क र मूल्य अभिवृद्धि करको १५÷१५ प्रतिशत रकम स्थानीय तह र प्रदेशलाई दिनुपर्ने व्यवस्था छ ।
बजेटमार्फत कृषि, पर्यटन, जलविद्युत र रोजगारी सिर्जनाका क्षेत्रमा नयाँ कार्यक्रम समावेश गरिएको छ । स्रोतका अनुसार युवा स्वरोजगार कोषको कामलाई प्रभावकारी बनाइ स्वरोजगारलाई प्रोत्साहन गर्ने गरी बजेट निर्माण भएको छ ।
सरकारले संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको छ । जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास गर्ने प्रतिबद्धता निर्वाचनका बेला गरिएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।
Categorized in राष्ट्रिय