काठमाडौं । चोरी मुद्दाका दुई अभियुक्तहरु प्रहरी सामुन्ने हतकडी खोलेर थानकोटबाट फरार भएका छन ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार रामेछापको लिखु तामाकोसी–१ का रविन नेपाली र भीमबहादुर सुनुवार मंगलबार बिहान थानकोट क्षेत्रबाट फरार भएका हुन ।
फरार मध्ये रविन नेपाली केही बेरमै थानकोट क्षेत्रबाटै पक्राउ परेका छन भने सुनवार फरार रहेका छन ।
सार्वजनिक वसमा ल्याएका उनीहरु हतकडी खोलेर भागेपछि मात्रै ती प्रहरीले थाहा पाएका थिए ।
प्रहरी हवल्दारको नेतृत्वमा तीन जना प्रहरीको निगरानीमा रहेका उनीहरु कसरी फरार भए भन्ने शंकास्पद रहेको छ ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार प्रहरी कर्मचारीको असावधानीका कारण घटना भएको हो ।
गत भदौ ४ गते सीतापाइलाबाट प्रकाश तामाङको लु ५२ प ८५०५ नम्बरको चोरी भएको मोटरसाइकलमा संलग्न देखिएपछि प्रहरीले दुवैलाई बुटवलबाट समातेको थियो ।
रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर महानगरीय प्रहरी वृत्त स्वयम्भू ल्याउने क्रममा उनीहरू थानकोटबाट भागेका थिए ।
Categorized in समाज