३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

इन्द्रजात्रा अवलोकन गर्न ६ देशका पाँच मेयरसहति ४८ जना पाहुना आँउँदै


प्रकाशित: मंगलवार, ३ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । यस बर्षको इन्द्रजात्रा विशेष हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । 


महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अनुसार इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा अन्तरराष्ट्रिय नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने भएको छ । 


सचिवालयले महानगर प्रमुख बिद्यासुन्दर शाक्यलाई भेटेर यस सम्बन्धि जानकारी दिएको छ । 


महानगरले पठाएको निमन्त्रणालाई स्वीकारेर चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।


त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ ।


मेयर शाक्यले हामीले भगिनी सम्बन्ध स्थापना गरेका नगरसँग हाम्रा नागरिकसँग सम्बन्ध बढाउन, आपसी सांस्कृतिक पक्षको आदान प्रदान गर्न र नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन गर्न यो महत्वपूर्ण अवसर हुने बताए ।


 अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार, जात्रा अवलोकन गर्न आउने पाहुनालाई मुख्यतया, इन्द्रजात्राका मूर्त अमूर्त पक्षको अवलोकन तथा जानकारी गराइनेछ । त्यससँगै बसन्तपुरलगायत काठमाडौंका भित्री सहरी क्षेत्र, स्वयम्भू र बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार स्क्वायर, काठमाडौंको चन्द्रागिरीलगायत स्थानको अवलोकन गराइनेछ ।


अबलोकन टोली भाद्र २६ गते (सेप्टेम्बर १२) काठमाडौं आइपुग्नेछ भने भाद्र ३० ९सेप्टेम्बर ३०० स्वदेश फर्किनेछ ।


यस बर्ष इन्द्रजात्रा (कुमारी रथयात्रा) भाद्र २७ गते परेको छ । यो जात्रा भाद्र ३१ गते नानिचा जात्रासँगै समापन हुनेछ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार भाद्र २४ गते बसन्तपुरमा इन्द्रध्वज उत्थान गरेपछि इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु हुनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex