काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने अर्को विकल्पको रुपमा रहेको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ ।
यो ल्याण्डफिल साईट पुरा भएपछि उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने छ । अहिले शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ ।
विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मनोज नकर्मीका अनुसार पहिलो चरणको रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरु भएको छ ।
गत वैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएपछि पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम रहेको छ ।
सो ल्याडफिल साइट सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माणलगायत पूर्वाधार निर्माणको काम अघि बढिरहेको छ ।
अहिले सिसडोल भरिसकेकाले पनि सकेसम्म चाँडो काम गरेर समयमै सम्पन्न गराउन लागिपरेको वरिष्ठ डिभिजनल इञ्जिनीयर नकर्मीले बताए ।
सो साइटको क्षमता झण्डै ५० लाख घनमिटर रहने विभागले जनाएको छ । विभागकै अनुसार अहिले दैनिक विसर्जन हुनसक्ने फोहर कुहिने, नकुहिने, पुनःप्रयोग हुनेसमेत एकै ठाउँमा हाल्दा २० र छुट्याएर पुनःप्रयोगमा नआउँदा फोहर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहर व्यवस्थापन हुनसक्ने बताइएको छ ।
काठमाडौँमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहरको परिमाण बढिरहँदा झण्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रुपमा बञ्चरेडाँडालाई हेरिएको थियो ।
Categorized in स्थानिय