काठमाडौं । मेलम्चीको पानीको पर्खामा बसेको उपत्यकावासीलाई विज्ञहरु आकाशे पानी संकलन गर्न सुझाव दिएको छ ।
राजधानीमा चलेको दुई दिने राष्ट्रिय आकाशे पानी संकलन कार्यलयशालमा सहभागी विज्ञहरु, मन्त्री तथा सरकारी अधिकारीहरुले सो सुझाव दिएको हो ।
शनिवार र आईतबार सञ्चालित सो कार्यशालमा सहभागीहरुले सहरमा चाहिने पानीको व्यवस्थाका लागि आकाशे पानी संकलन बिधि जरुरी भएको जोड दिएका छन ।
काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरुले पनि आकाशे पानि संकलन विधि बुझ्न जरुरी रहेको विज्ञहरुको सुझाव रहेको थियो । साझा उपत्यकाका नगरका प्रमुख, उपप्रमुख र प्रतिनिधिलाई लक्षित गरेर चलाइएको नगरपालिका सत्रमा बोल्ने मेयरहरुको निष्कर्ष यसै बिषयमा केन्द्रीत थियो ।
कार्यक्रममा अतिथि वक्ताहरुले पानीको श्रोत व्यवस्थापनका लागि होस या पानीको सतह सन्तुलनका लागि होस । अब नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणा अनुसार योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उर्जा मन्त्री बर्षमान पुनले भने, ‘हाम्रा पुर्खाले आकाशे पानीको महत्व राम्ररी बुझेका थिए । यसलाई प्रयोग गरेर आफ्नो मात्र होइन, जैबिक बिबिधता पनि जोगाएका थिए ।’
‘पुर्खाको ज्ञान छोड्दा अहिलेको पुस्ताले पानीबाट दुःख पाएका छन् । अब आकाशे पानीलाई पूर्ण उपयोग गर्नुपर्छ ।’ मन्त्री पुनले भने,‘नीति चाहिने भए नीति बनाउँ, व्यबहार परिवर्तन चाहिए, त्यस प्रकारका कार्यक्रम बनाउँ, तर अब केही गर्नै पर्ने भएको छ ।’
त्यसैगरी मेलम्ची खानेपानी उपत्यकावासीलाई खुवाउने जिम्मेवारी पाएकी खानेपानी मन्त्री बिना मगर घर चलाउन आकाशे पानी जोगाउन जत्तिको सजिलो बिधि अरु नभएको बताईन ।
कार्यशालाको निष्कर्षलाई ७ बुँदे सुझावका रुपमा ग्रहण गर्दै मन्त्री मगरले यसका लागि आवश्यक काम गर्न मन्त्रालय तयार रहेको मन्त्री मगरले सो कार्यक्रममा बताईन ।
३८ वटा संघ संस्थाको सहभागी रहेको यस सम्मेलनका मूल आयोजक समितिका अध्यक्ष रामदीप शाहले सम्मेलन अवधिमा ६ वटा सत्रभित्र ३० वटा कार्यपत्र प्रस्तुत गरिएको बताए ।
कार्यशालामा करीब ५०० जनाको सहभागिता रहेको यस सम्मेलन स्थलमा आकाशे पानी संकलन सम्बन्धि जानकारी दिने, सामाग्री उपलब्ध गराउने, प्रबिधिको सिकाउने खालका प्रदर्शनी गरिएको थियो ।
Categorized in समाज