काठमाडौं । पूर्वउपसविच बिष्णुप्रसाद शर्माको घरमा सोमबार राती अचानक चलेको गोलीले यतिखरे प्रहरी बृतमा चर्चाको विषय बनेको छ ।
राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव घरमा झ्यालको सिसा एक्कासि फुटेपछि घरमा सबै आत्तिएका थिए ।शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि छिरेको गोलीले मानवीय क्षति नपुराएपनि कसले र किन गोली चलाए भन्ने कौतुहलताका विषय बनेको छ ।
प्रहरी अनुसन्धानमा कोठाभित्र गोली जस्तो देखिने वस्तु सानो २.२ एमएम हतियारको जस्तो देखिने गोली बरामद भएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीका अनुसार यस किसिमको गोली सिकार प्रयोजनका लागि प्रयोग हुने गर्दछ ।
अहिलेसम्मको अनुसन्धानले दुर्घटनावस गोली चलेको हुनसक्ने प्रहरी अनुमान रहेको छ ।
प्रहरीले यतिखेर वरिपरि रहेको घर र लाइसेन्स प्राप्त हतियार भएका व्यक्तिको छानबिन थालेको बताएको छ ।
Categorized in समाज