काठमाडौं । काठमाडौंमा फोहर संकलन गर्ने निजी संस्थाहरुले अबदेखि काठमाडौं महानगरपालिकामा दर्ता अभिलेख गर्नुपर्ने छ ।
महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुले अहिलेसम्म आफूखुशी फोहर सङ्कलन गरिरहेको र राजश्व पनि नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो ।
महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन ।
उनीहरुले महानगरपालिकालाई प्रतिटपरको रु ३५० बुझाउने गरेका श्रेष्ठले जानकारी दिएका छन । शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको श्रेष्ठले बताए ।
महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन ।
श्रेष्ठले काठमाडौँ महानगरपालिककोे २१ टिपरले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको जानकारी दिए ।
काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन । सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ ।
Categorized in स्थानिय