जसले इतिहासको कदर गर्दछन्, तिनीहरूले यूनान वा ग्रीसको पनि कदर गर्दछन् । त्यसमा पनि राजधानी एथेन्स प्राचीन नगर राज्यको कालको एक यस्तो धरोहर हो, जो आजसम्म पनि जीवित नै छ । सुकरात, अफलातूँ र अरस्तू जस्ता महान् दार्शनिकहरूको नाम नसुन्ने को होलान् ? यी सबै एथेन्सका निवासी थिए । आज जसलाई पश्चिमी सभ्यता भनिन्छ, त्यसको जग भनेकै कि त यूनानी सभ्यता हो वा रोमी सभ्यता हो ।
प्राचीन एथेन्सको पनि आधारशिलाको रूपमा एथेन्सको एक्रोपोलिस रहेको छ । यसलाई सन् १९८७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने युनेस्कोले आफ्नो विवरणमा लेखेको छ– एथेन्सको एक्रोपोलिस र यसका स्मारकहरू प्राचीन सभ्यता र यसको आत्माको प्रतीकको रूपमा रहेको छ । जो ग्रीकको प्राचीनताले दुनियाका लागि छोडेर गएको छ । फारसीहरूमाथि विजय प्राप्त गरिसकेपछि र प्रजातन्त्रको स्थापना पछि ईसा पूर्व ५औं शताब्दीको दोस्रो आधा शताब्दीको खण्डमा एथेन्सले प्राचीन विश्वका नगर राज्यहरूमा अग्रणी स्थान लियो । जसै सोच र कला मौलायो, केही खास कलाकारहरुले एथेन्सियाई राजनीतिज्ञ पेरिक्लिजको महत्वाकांक्षी योजनालाई साकार बनाए । मूर्तिकार फिदियासको निर्देशकत्वमा चट्टानी डाँडालाई सोच र कलाको अनुपम स्मारकको रूपमा परिणत गरिदिए । त्यो समय निर्माण भएका सर्वाधिक महत्वपूर्ण स्मारहरू हुन्– इक्टिनसले बनाएको पार्थिनन, इरेक्थियोन, प्रोपाइलिया, नेसिक्लिजले डिजाइन गरेको एक्रोपोलिसको प्रवेश–द्वार र एथेना नाइकको सानो मन्दिर ।
एथेन्सको एक्रोपोलिस १५६ मिटरको सरदर उचाइमा रहेको छ । ३५० मिटर जति लम्बाइ र १७० मिटर जतिको चौडाइमा यो फैलिएको छ । पश्चिमतिरको पाटोमा बाहेक यो डाँडो पूर्णत चट्टानी र भिरालो छ । माथि पुगेपछि चाहिँ लगभग समथर भई फैलिएको जमिन छ । यसको माथिको भागमा ३३० वर्ष पुरानो पर्खाल बरकरार नै छ । ईसा पूर्व १३ औं शताब्दीमा यहाँ स्थानीय राजाको दरबार थियो । ८औं शताब्दी ईसा पूर्वदेखि यस स्थानले धार्मिक चरित्र ग्रहण ग¥यो । यहाँ नगरको रक्षक देवी एथेना स्थापना गरियो । माथि नै उल्लेख भए अनुसार ५औं शताब्दीमा फारसीहरुमाथि विजय प्राप्त भइसके पछि पेरिक्लिजको आदेशमा यहाँ थुप्रै स्मारकहरू बनाउन थालिएको हो ।
एथेन्सको विमानस्थलबाट पश्चिम दिशामा रहेको एक्रोपोलिससम्म पुग्न बाटोको दुरी ३६ किलोमिटर रहेको छ । यहाँ पुग्न सबवे ट्रेन, बस वा ट्याक्सी लिन सकिन्छ । एक्रोपोलिसको दक्षिण र पश्चिम पट्टिको दिशामा अहिले चौडा गल्लीहरू रहेका छन् । यसमा रेस्टुराँ, क्याफे आदि प्रशस्त मात्रामा खुलेका छन् । यसले गर्दा यात्रुहरूलाई सुविधा र मनोरमता थपेको छ । हिँडेर गए पछि सिँढी चढ्ने ठाउँ आइपुग्छ । सिँँढी चढेपछि मूल द्वारमा पुगिन्छ, जो प्रोपिलियाको नामले प्रसिद्ध छ । प्रोपिलिया एक्रोपोलिसको कलात्मक द्वार हो । यो सिंगमरमरले बनेको छ । द्वारबाट छिरेपछि बायाँपट्टि पिनाकोथिका रहेको छ । पिनाकोथिका भन्नाले चित्र ग्यालरी भन्ने बुझिन्छ । त्यसै गरी दायाँ पट्टि चाहिँ नाइक एथेना देवीको सानो मन्दिर रहेको छ । मन्दिर डबली जस्तोमा रहेको छ र यहाँबाट टाढा हेर्ने हो भने सारोनिक खाडीका टापूहरू देख्न सकिन्छ । सन् १६८६ मा तुर्कहरूको आक्रमण हुँदा मन्दिर भत्काइएको थियो । त्यो ठाउँबाट तोप हान्न सकिने हिसाबले नै तुर्कहरूले मन्दिर भत्काएको प्रतीत हुन्छ । सन् १८४२ र १९३६ मा मन्दिर पुनर्निर्माण गरियो ।
त्यस पछि एक्रोपोलिसको मूल भवन पार्थेननमा पुगिन्छ जो एक्रोपोलिसको मूल भागमा रहेको छ ।
यो एथेना पार्थिनोस वा एथेन्सको कुमारीको मन्दिर हो । तर पछि यो गिर्जाघर पनि बन्यो । मस्जिद पनि बन्यो र तुर्कहरूको बारुद भण्डार गर्ने ठाउँ पनि बन्यो । सन् १६८७ मा भेनेसियन्सले यहाँ तलबाट गोलाबारुद दागे । एउटा तोपले बारुद पड्क्यो ।
पार्थेननको भित्ता हेर्दा यस्तो देखिन्छ कि त्यसमध्येको कुनै पत्थर झिकेर अर्को ठाउँमा राख्ने हो भने पनि मिल्छ जस्तो लाग्छ । तर वास्तवमा यस्तो होइन, यो संसारकै सबभन्दा ठूलो जिग्सः पजल हो । त्यसैले यसको जीर्णोद्धारमा ३० वर्ष बितिसक्यो र पूरा हुन अझै ३० वर्ष लाग्ने देखिन्छ । पार्थेनन यस्तो भवन हो जुन विश्वभर नक्कल गरिएको छ ।
पार्थेननको उत्तर पट्टि इरेक्थ्योम रहेको छ जुन एथेना देवी र पोसिडिन देवताको मन्दिर हो । भनिन्छ, यो ठाउँमा एथेन्सको अधिपति देवी को हुने भनेर एथेना र पोसिडिनको युद्ध चलेको थियो । पोसिडनले आफ्नो त्रिशूल निकालेर चट्टानमा धस्कायो र त्यहाँबाट पानीको मूल फुटेर निस्क्यो । एथेनाले भालाले जमिनमा छोइन् र त्यहाँबाट एक जैतुनको वृक्ष उम्रेर आयो । एथेना विजयी घोषित भइन् र शहरको नाम एथेन्स रहन गयो । पोसिडनलाई साइरस नामको गाउँको जिम्मा दिइयो । वास्तवमा इरेक्थ्योम नै यहाँको पवित्र पूजास्थल थियो, पार्थेनन होइन भनेर भनिन्छ ।
इरक्थ्योमबाट लागेपछि डायनसिसको रङ्गशाला (तलतिर डबली र माथि मान्छे बस्ने सिँढीहरु भएको स्थल) देख्न सकिन्छ । एक्रोपोलिसको उत्तरपूर्वी कुनामा पुगेपछि त्यहाँबाट तलतिर एथेन्स शहर अनन्त रूपमा फैलिएको देख्न सकिन्छ । प्लाका क्षेत्रमा सिमारिक टायलले छाएका घरहरू यहाँबाट देखिने अर्को मनोरम दृश्य हो । ओलम्पियन ज्युस देवताको मन्दिरको भग्नावेश र सल्लाको जङ्गलका बीच ओलम्पिक रङ्गशालाको भग्नावशेष यहाँबाट देखिने अर्को दृश्य हो ।
एक्रोपोलिसको २८० मिटर जति पर अहिले एक्रोपोलिस संग्राहलय पनि खोलिएको छ । यहाँ त्यस क्षेत्रमा पाइएका सामग्रीहरू राखिएका छन् ।
एथेन्सको एक्रोपोलिसमा भ्रमण गर्ने समय भनेको हिउँद र वसन्त ऋतुमा नै हो । वर्षा लागेपछि यहाँको ढुङ्गाको काप र फुटेका ठाउँहरूबाट घाँसपात निस्केर ढाक्न थाल्छ ।
साभार ः हेरिटेज पोष्ट
Categorized in सम्पदा/संस्कृति