काठमाडौं । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो ।
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन ।
सवारी दुर्घटनामा ज्यान गएकामध्ये अधिकांश मोटरसाइकलमा सवार रहेको महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटर ९९, पैदलयात्रु ७१, कार १६, ट्रक १६, बस आठ, साइकल चार र एउटा माइक्रो दुर्घटनामा परेका छन ।
उपत्यकामा आर्थिक वर्ष २०७४÷७५ मा १९४ र आर्थिक वर्ष २०७३÷७४ मा १८२ जनाको सवारी दुर्घटनामा परी ज्यान गुमेको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौँ उपत्यकामा मात्र ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन ।
Categorized in समाज