काठमाडौं । शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगरमा सङ्ग्रहालय निर्माण हुने भएको छ ।
विराटनगरमालिका महानगरपालिका–७ कोइराला निवास क्षेत्रमा निर्माण हुने सङ्ग्रहालयको विहिवार काङ्ग्रेसका केन्द्रीय सदस्य एवं फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले शिलान्यास गरेका छन ।
नेपालमा राजनीतिक चेतना र सामाजिक जागरणमा गिरिजाप्रसाद कोइरालाको भूमिका अग्रणी रहेको स्व. कोईरालाको सुपत्री समेत रहेकी फाउण्डेशन अध्यक्ष सुजाताले बताईन ।
फाउण्डेशन प्रदेश नं १ का अध्यक्ष इन्दिरा थापाले दिएको जाकारी अनुसार सो भवन चारतले हुने छ ।
भवनको लागि सङ्घीय सरकारले रु ४० लाख, प्रदेश नं १ सरकार स्वास्थ्य विभागले रु २० लाख, विराटनगर महानगरपालिकाले रु १५ लाख, सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागले रु दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
भवन कूल रु तीन करोड २२ लाख लागतमा निर्माण हुने अध्यक्ष थापाले बताईन ।
विराटनगरलाई कर्मभूमि बनाएर मजदूर आन्दोलनबाट राजनीतिमा होमिनुभएका कोइराला नेपाली काङ्ग्रेस पार्टीका महामन्त्रीदेखि पार्टी सभापतिसम्म र पटक पटक प्रधानमन्त्री बनेर देशको शासन भार सम्मालेहेका थिए ।
फाउण्डेशनका सदस्य हरिनारायण चौधरीले नेपाली राजनीतिको इतिहास बुझ्न र जान्न जो कोहीलाई मद्दत पुग्ने उद्देश्यले सङ्ग्रहालय बन्न लागेको बताए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश सभासदस्य केदार कार्की र प्राध्यापक कृष्णप्रसाद पोखरेलले कोइरालाको योगदान बारेमा चर्चा गरेका थिए ।
Categorized in राष्ट्रिय