काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सबै प्रकारको सिण्डिकेट, कार्टेलिंग, मिलोमतोलाई कठोरका साथ अन्त्य गर्ने आफ्नो नीति तथा कार्यक्रममा राखेको छ ।
आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम बँुदा नं. ४७ मा सो बारे उल्लेख गरिएको छ । साथै आधारभूत उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थको भण्डारको क्षमता विकास गर्ने जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०७५÷७६ मा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने, ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै हरेक नेपालीको बैंक खाता हुने र बैंकिङ प्रकियाबाट मात्र भुक्तानी गर्ने प्रणाली विकास गर्ने भएको छ ।
त्यसैगरी सरकारले पूँजी बजारलाई गतिशिल बनाउने, छरिएर रहेका पूँजीलाई एकिकृत गर्दै परिचालन गर्ने, वित्तीय सुशासनलाई कडाइ गर्दै आन्तरिक स्रोत परिचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले सम्पत्ती शुद्धिकरण तथा आतंकबादी क्रियाकलाप बिरुद्ध पनि कठोर नीति अवलम्बन गर्ने भएको छ ।
Categorized in राष्ट्रिय