काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले अहिलेको सङ्घीयता प्रशासनिक सङ्घीयता मात्र भएको बताएका छन ।
काठमाडौँको नाजार्गुन नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै फोरम सह– अध्यक्ष श्रेष्ठले सो कुरा बताउँदै सङ्घीयतामा प्रदेशको मुख्यमन्त्रीको मातहत रहनुपर्ने सिडियोलाई केन्द्रको मातहत राख्नु तथा प्रदेशहरूलाई कमजोर बनाई संघीयता असफल बनाउने खेल भईरहेको बताए ।
ससफो नागार्जुन नगरपालिकाका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको उक्त भेलामा पार्टीका राजनीतिक समिति सदस्य राजन केसीले ससफो नेपाल सबै जाति जनजातिको साझा पार्टी भएको बताउँदै वर्गीय, जातीय, भाषिक, सांस्कृतिक सबैखाले उत्पीडनको अन्त्यका लागि ससफोमा आवद्ध हुनुपर्ने बताए ।
प्रेमराज शिल्पकारले सञ्चालन गरेको उक्त अधिवेशनमा पार्टीका जिल्ला अध्यक्ष मनरत्न शाक्य, ३ नम्बर प्रदेशका सचिव अर्जुन लम्साल, जिल्ला समिति सदस्य तथा नागार्जुन नगरपालिकाका पूर्व अध्यक्ष हिराकाजी महर्जन, महिला नेतृ सोनाम लामा शाक्य लगायतका नेताहरूले पनि शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनमा सङ्घीय समाजवादी महिला फोरमका केन्द्रीय सदस्य अञ्जली वज्राचार्य, पार्टीका जिल्ला सदस्यहरू मंगल रत्न ताम्राकार, राजाराम तण्डुकार, सुरज महर्जन आदिको पनि उपस्थिति रहेको थियो ।
अधिवेशनले सोनाम लामा शाक्यको अध्यक्षतामा दिवाकर राज गिरी उपाध्यक्ष र अर्जुन थापा सचिव रहेको १७ सदस्यीय नागार्जुन नगर समिति गठन गरेको छ ।
त्यसरी नै ससफो, नेपाल तारकेश्वर नगरपालिकाको पनि प्रथम नगर अधिवेशन २०७६ वैशाख १५ गते सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र तारकेश्वर नगर समिति अध्यक्ष कमल लामाको अध्यक्षतामा नेपालटारमा सम्पन्न भएको छ ।
तारकेश्वर नगर अधिवेशनले कमल लामाको नेतृत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूका साथै स्थानीय बुद्धिजीवीहरू कन्हैया प्रधान, सुमन महर्जन लगायतको पनि उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय