काठमाडौं । सार्वजनिक यातायातमा सर्वसाधरणको लािग सहज यात्रा गराउने उदेश्यले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था सुरु भएको छ ।
ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उक्त व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाममा कमी आउँने हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने वाध्यता हट्ने विश्वास व्यक्त गरे ।
जाम हटेसँगै एउटै सवारी साधन धेरैपटक ओहोरदोहोर गर्दा धेरै आम्दानीसमेत हुने उहाँको भनाइ छ ।
यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेको थियो ।
Categorized in समाज