काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरवासीको लागि एम्बुलेन्स सेवा सुरु भएको बताएको छ ।
उनले बैशाख १५ गते महानगरबासीका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिँदै महानगरवासीको लागि यो सेवा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन ।
शनिवार राष्ट्रिय सभागृहमा महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा (प्रि हस्पिटल केयर) सञ्चालन तथा व्यवसथापन सम्झौता पछि प्रमुख शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
सम्झौता पत्रमा महनगरपालिकाका तर्पmबाट प्रमुख शाक्य र एम्बुलेन्स सेवाका तर्फबाट अध्यक्ष रन्जीत आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौतापछि काठमाडौंमा भएका ६ वटा एम्बुलेन्समा महानगरका प्रमुख र उपप्रमुख हरिप्रभाव खड्गीले ‘महानगरको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिएको स्टिकर टाँसेर सहकार्य शुभारम्भ गरेका थिए ।
यो सम्झौतासँगै ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्ने छन भने विपन्न, गरिब, असाहय व्यक्तिहरुलाई सम्बन्धीत वडाको सिफारिसमा निःशुल्क सेवा प्रदान गरिने भएको छ ।
आगमी ५ बर्षसम्मको लागि भएको यस सम्झौता अनुसार महानगरपालिकाले प्रति एम्बुलेन्सलाई मासिक करिब रु १ लाख २० हजारका दरले सेवा सञ्चालन गर्न १० वटालाई १२ लाख रुपैयाँ नेपाल एम्बुलेन्स सेवालाई उपलव्ध गराउनु पर्नेछ ।
त्यसैगरी एम्बुलेन्सको दायाँ बायाँ भागमा “काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिनेछ । यसरी लेखिने सन्देशको भाषा नेपाली र रञ्जना लिपि हुनेछ । त्यस्तै एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी कामका लागि प्रयोगमा आउने कागजात, बिल, भर्पाई र बेवसाइटमा पनि ‘काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा” लेखिनेछ ।
कुनै प्राकृतिक वा अप्राकृतिक घट्नामा अप्ठेरोमा परेका विरामी, घाईतेहरुलाई प्रविधियुक्त विशेष सेवा एम्बुलेन्स सेवा प्रदान गरी पीडितहरुको ज्यान बचाउने उच्चतम प्रयास गर्नु पर्ने सेवा सम्झौतामा उल्लेख छ ।
कार्यक्रमा एम्बुलेन्स सेवाका अध्यक्ष आचार्यले नेपालमा पहिलो पल्ट यस किसिमको आधुनिक र उच्च प्रविधियुक्त सेवासहितको एम्बुलेन्स सेवा प्रदान गरेका बताएका छन ।
उनले भने महानगरसँग भएको यो सम्झौता ऐतिहासिक र महत्वपूर्ण भएको तथा सम्झौता अनुसार महानगरवासीलाई सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रममा उपप्रमुख हरिप्रभाव खडगी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, पाटन स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. भरतकुमार यादव, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामप्रसाद आचार्यले आ–आफ्ना विचार राखेका थिए ।
Categorized in समाज